राष्ट्रिय जिन बैंकले बाँकेको चिसापानीमा रहेको गाभर उपत्यकामा नौ प्रकारका कोदोको उत्पादन गर्न परीक्षण शुरू गरेको छ । राष्ट्रिय जिन बैंकको सहकार्यमा तराईमा हुने कोदोको परीक्षण शुरू भएको सामुदायिक जिन बैंक कोहलपुरका संयोजक परमुल बस्नेतले जानकारी दिनुभयो । उहाँका अनुसार दुई कट्ठा क्षेत्रफलमा अलग–अलग प्लट बनाएर नौ जातका कोदोको परीक्षण गर्न कोदो रोपिएको छ ।
गएको साउन १६ गते कोदोको बीउ राखेर केही दिनअघि मात्रै कोदो रोपिएको हो । नौ जातका कोदो रोपिएको र तीमध्ये सबैभन्दा राम्रो उत्पादन दिने कोदो किसानलाई रोप्न प्रेरित गरिने संयोजक बस्नेतले बताउनुभयो । उहाँका अनुसार पूर्वी तराईका जिल्लामा सफल भएका स्थानीय जातको कोदो परीक्षण गर्न थालिएको हो ।
राष्ट्रिय जिन बैंकका प्राविधिक अधिकृत प्रदीप थापाले रैथाने बालीको संरक्षणका लागि सुक्खा ठाउँमा समेत कोदो जस्तो रैथाने बाली लगाउन मिल्ने गरी परीक्षण भएको बताउनुभयो । परीक्षण गरिएका नौमध्ये पाँच वटा जिन बैंकको परीक्षणमार्फत उत्कृष्ट देखिएका, दुई वटा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले विकास गरेका र अन्य दुई वटा किसानका जात रहेका छन् । अहिले रोपेको कोदोको प्रतिफल मङ्सिरमा आउँछ ।