२०८१ भाद्र २८ गते शुक्रवार
२०८१ भाद्र २८ गते शुक्रवार

पाँचथरमा बम विस्फोट : २ बालबालिकाको मृत्यु, २ बालक घाइते

पाँचथरमा बम विस्फोटमा परी २ बालबालिकाको मृत्यु भएको छ भने २ बालक घाइते भएका छन् । जिल्लाको फालेलुङ गाउँपालिका ५ डाडागाउँ भन्ने स्थानमा आइतराज केरुङको घरमा विहिवार साँझ विष्फोट भएको थियो। विस्फोटक पदार्थ विस्फोट हुँदा घाइते भएका चार बालबालिका मध्ये २ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा २ वर्षीया प्रिन्सा साँवा र ११ वर्षीय दिप्सन साँवाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जानकारी दिएको छ । उपचारका लागि लैजाने क्रममा प्रिन्साको राति १० बजे इलाम पुर्‍याउँदा बाटोमै र दिप्सनको राती १ वजे बी एन्ड सी अस्पताल झापा पुर्‍याउँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।

घाइते हुनेमा ११ वर्षीय पबन राई, ७ वर्षीय दिपशन राई रहेका छन् । घाइते पबन जिल्ला अस्पताल पाँचथरमा उपचार भइरहेको छ भने ७ वर्षीय दिपशनको सामान्य घाइते भएकाले स्थानीय स्वास्थ्य चौकी प्राङबुङमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ। उनीहरू घरेलु ग्रिनेड पड्केर घाइते भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख डीएसपी हेमन्त भण्डारी क्षेत्रीले बताए। ग्रिनेड कहिले र कसले राख्यो भन्ने नखुलेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।