कलाकार सुलेमान शंकर (इकु) भन्ने सूर्यमान शंकर पक्राउ परेका छन्। कलाकार भिसामा मानिसलाई युरोपलगायत देशमा पठाएर ठगी गरेको आरोपमा उनी पक्राउ परेका प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले जनाएको छ।
ललितपुरको धापाखेलका ४० वर्षीय इकुले युरोप, अष्ट्रेलिया, क्यानडालगायत देशमा हुने सांस्कृतिक कार्यक्रकहरूमा कलाकार बनाएर लैजाने भन्दै ठगी गरेको पाइएको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।
उनको एसएमएस फिल्म प्रालिको नाममा ग्लोबल आईएमई बैंकमा रहेको खातामा प्रतिव्यक्ति १५ देखि २० लाख रकम जम्मा गर्न लगाएर उनले ठगी गरेको पाइएको छ ।
यसरी रकम जम्मा गरेपछि विदेश पठाउन तयारी भइरहेको छ भनेर लामो समयसम्म झुलाउने र पैसा लिएकाहरूसँग सम्पर्कविहीन हुने गरेको समेत रहेको बोगटीले बताए। उनलाई यही भदौ २५ गते काठमाडौँको बूढानीलकण्ठस्थित हात्तीगौँडाबाट पक्राउ गरी अदालतबाट ५ दिनको म्याद लिएर अनुसन्धान थालिएको छ।