राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी ठगीमा आफ्नो संलग्नता नरहेको पुष्टि भएको दावी गरेका छन्। सोमवार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग उनले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदनअनुसार आफू सहकारी ठगीमा संलग्न नभएको पुष्टि भएको दावी गरेका हुन्। ‘आफ्नो कार्यकालमा भएका चिजहरु दुरुपयोग भए कि भएनन् भन्ने कुराको कानूनबमोजिम जवाफदेहिता दिनुपर्छ भन्ने कुराबाट भाग्ने मान्छे हामी होइनौँ‚’ उनले भने‚ ‘सहकारी ठगीमा मेरो संलग्नता नभएको कुरा स्पष्ट भएको छ‚ पुष्टि भएको छ।’
उनले सहकारीबाट गोर्खा मिडियामा आएको रकम चलाउने क्रममा आफू प्रवन्ध निर्देशक भएको नाताले हस्ताक्षर भने आफ्नै चलेको बताए। उनले गोर्खा मिडिया सञ्चालनका क्रममा भएका कमी, कमजोरीहरुको भने आफू भागीदार हुने उनले स्पष्ट पारे। ‘अझै पनि भाष्य निर्माण गर्नलाई त्यहाँबाट गएको पैसा त्यसले चलाएको हो नि भनेर भनिएको छ। मैले आएको पैसाको त्यहाँ आन्तरिक प्रशासन चलाउन त्यहाँ चेक नकाटेर एमडीले घाँस काट्ने कुरा आउँदैन नि त‚ चेक नै काट्ने होला नि‚’ उनले भने‚ ‘जुन कुरामा लाञ्छना लागेको थियो त्यो कुरा समितिले स्पष्ट पारेको छ। बाँकी प्रचलित कानूनअनुसार कहीँ कतै गडबड गरेको भए सजायको भागीदार हुनुपर्छ। गोर्खा मिडिया सञ्चालनका क्रममा मबाट गलत भएको रहेछ भने कसैले ल्याएको पैसा सञ्चालन गर्ने क्रममा मबाट गल्ती, कमजोरी भएको रहेछ भने त्यसको भागीदार हुनुपर्छ भन्ने कुरामा त भनिहाल्यौँ।’ उनले आफूहरु सहकारीपीडितको पक्षमा आवाज उठाइरहने पनि बताए।