२०८१ असोज १९ गते शनिवार
२०८१ असोज १९ गते शनिवार

पहिरोले दाङसंग जोड्ने विभिन्न सडक अवरुद्ध

पहिरोले दाङ– सल्यान, दाङ–रोल्पा र दाङ प्यूठान सडक खण्ड अवरुद्ध भएको छ । पहिरोले दाङसँग जोड्ने पहाडी जिल्लाहरूसँगको सम्बन्ध पूर्ण रुपमा बिच्छेद भएको छ । राप्ती राजमार्ग अन्तरगत दाङ– सल्यान सडक खण्डको तुलसीपुर उपमहानगरपालिका – ३ राम्री नजिकै ठूलो पहिलो झरेको छ । सडक खण्डको एक ठाउँमा झन्डै १२ मिटर बढी सडक पहिराले भत्किएको प्रहरीले जानकारी दिएको छ । सडक खण्डमा अन्य स्थानमा पनि साना ठूला पहिरो ठाउँ ठाउँमा झरेको छ ।

तुलसीपुर – घोराही सडक खण्ड अन्तरगत घोराहीको सेवार खोलामा आएको बाढीका कारण सडक खण्ड अवरुद्ध भएको छ । खोलामा बाढी आएका कारण वैकल्पिक मार्गबाट सवारी सञ्चालन गर्न आग्रह गरिएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको लमही नगरपालिका – ९ च्याउखोलामा पहिरोका कारण सडकमा खसेका ढुङ्गाहरू यात्रु मिलेर आफैले पन्छाएर यातायात सञ्चालन गरेका छन् ।

पहिरोले दाङको घोराहीदेखि रोल्पाको होलेरी जोड्ने शहीद मार्ग पनि अवरुद्ध भएको छ । यो सडक खण्डमा पनि ठाउँ ठाउँमा साना ठूलो पहिरोहरू झरेको खवर आएको प्रहरीले बताएको छ । दाङ– प्यूठान सडक खण्ड पनि पहिरोका कारण अवरुद्ध छ । दाङको भालुबाङदेखि –प्यूठान जाने सडक खण्डमा रो झरेका कारण सडक खण्ड अवरुद्ध हुन पुगेको हो ।