२०८१ असोज १९ गते शनिवार
२०८१ असोज १९ गते शनिवार

बाढी र पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा बढी क्षति

सरकारले असोज ११ र १२ गतेको भारी वर्षासँगै आएको बाढी र पहिरोबाट १७ अर्ब रुपैयाँभन्दा बढी क्षति भएको प्रारम्भिक अनुमान गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार आयोजना गरेको पत्रकार सम्मेलनमा मुख्य सचिव एकनारायण अर्यालले प्रारम्भिक क्षतिबारे जानकारी दिएका हुन् ।

बाढी, पहिरो र डुवानबाट २१ जिल्ला प्रभावित भएका छन् । त्यसमा पनि काभ्रे, ललितपुर, धादिङ, काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली र मकवानपुर जिल्ला बढी प्रभावित छन् । उनका अनुसार २२४ जनाको मृत्यु भएको छ भने २४ जना बेपत्ता भएका छन् । १५८ जना घाइते भएका छन् । बाढी, पहिरो र डुवानबाट खानेपानीको संरचनामा ३ खर्ब ५५ करोड र सडक पूर्वाधारतर्फ २ अर्ब ५२ करोड क्षति भएको प्रारम्भिक अनुमान छ । त्यस्तै उर्जातर्फ ४ अर्ब, सिँचाईतर्फ २ अर्ब र कृषि तथा पशुपक्षीतर्फ ६ अर्बको क्षति भएको छ ।

कृषि बालीमा भएको क्षतिको विवरण एक महिनाभित्र तयार पारिने मुख्य सचिव अर्यालले बताए । खोज तथा उद्दार कार्य २ दिनभित्र सक्ने र राहतलाई एकद्धार प्रणालीमार्फत वितरण गर्ने सरकारको योजना छ । घरबारबिहीन भएकाहरुलाई सरकारले तोकेको स्थानमा अस्थायी आवास बनाउन दिइने मुख्य सचिव अर्यालले जानकारी दिए ।