दशैँ मनाउन फर्कनेहरुका कारण नेपालगञ्जको जमुनाहा नाकामा भीडभाड बढेको छ । रोजगारीको लागि भारतका विभिन्न सहरमा रहेका दुई लाख ३५ हजार जना भन्दा धेरै नेपालीहरु दशैँ मनाउन नेपालगञ्जको जमुनाह नाकाबाट घर फर्किएका छन् । असोज १ देखि २२ गतेसम्म २२ दिनको अवधिमा दुई लाख ३५ हजार पाँच सय ५६ नेपाली जमुनाह नाका हुँदै दशैँ मनाउन घर फर्किएको इलाका प्रहरी कार्यालय जमुनाहका प्रमुख प्रहरी निरीक्षक उपेन्द्रबहादुर बुढाथोकीले बताउनुभयो ।
भारतबाट रोजगारी गरेर घर फर्कने नेपालीको जमुनाह नाकामा हरेक दिन लर्को लाग्ने गरेको छ । अहिले भारत जानेभन्दा आउनेको भीडभाड धेरै छ । बिहान ७ बजेदेखि ११ बजेसम्म जुमनाह नाकामा घर फर्किने नेपालीको भीडभाड हुने गरेको छ । पछिल्लो २२ दिनमा दुई लाख ३५ हजार जना नेपाल भित्रिँदा एक लाख ६५ हजार दुई सय ८१ जना नेपाली जमुनाह नाकाबाट बाहिरिएका छन् । दशैँ मनाउन भारतबाट आउने नेपालीको सहजताका लागि जमुनाह नाकामा जिल्ला ट्राफिक प्रहरीसँगको समन्वयमा यात्रु सहायता कक्ष स्थापना गरिएको प्रहरीले जनाएको छ ।
रिक्सा, ई–रिक्सा, बस र होटेल व्यवसायीबाट स्वदेश फर्किने नेपालीलाई ठगिन नदिन नेपाल प्रहरीले सचेतना अभियान पनि चलाएको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज बुढाथोकीले बताउनुभयो । पश्चिम नेपालको सुर्खेत, दैलेख, जाजरकोट, सल्यान, रुकुम, रोल्पा, प्यूठानलगायतका जिल्लाबाट भारतमा रोजगारीका लागि पुग्ने गरेका छन् ।