२०८१ कार्तिक १८ गते आइतवार
२०८१ कार्तिक १८ गते आइतवार

कोहलपुरमा पुरुषको टाउको नभएको शव फेला

बाँकेको कोहलपुरमा एक पुरुषको टाउको नभएको शव फेला परेको छ ।  कोहलपुर नगरपालिका –८ पिपिरी चोकदेखि करिब दुई किलोमिटर पूर्व शितल नगरमा हत्या गरिएको अवस्थामा स्थानीय ४० वर्षीय चन्द्रबहादुर कामीको शव फेला परेको हो । विजयादशीका दिन शनिबार उनको घाँटी रेटी हत्या गरिएको प्रहरीको अनुमान छ।

राति करिब साढे १२ बजेको समयमा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। लगत्तै इलाका प्रहरी कार्यालय कोहलपुर र नजिकैको प्रहरी चौकीबाट प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी तुलबहादुर कार्कीले चन्द्रबहादुरको टाउको अझै नभेटिएको जनाउँदै प्रहरी परिचालन गरेर टाउको र हत्याराको खोजी भइरहेको बताए।

प्रहरीले टाउको बिनाको शवलाई आवश्यक प्रक्रिया पुगाएर पोष्टपार्टमका लागि भेरी अस्पताल नेपालगञ्ज पठाएको छ। प्रहरीका अनुसार घटनास्थलदेखि करिब २०० मिटर पूर्वमा रहेको सरस्वती चोकमा जडान गरिएको सीसीटीभी क्यामेरामा एक युवक कालो प्लास्टिकको झोला बोकेर गइरहेको देखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको छ।