जितु नेपाल र नीति शाहको शीर्ष भूमिका रहेको फिल्म ‘ज्वाइँ साब’ले प्रदर्शनको १० दिनमा सुखद कमाइ गरेको छ । दशैंको फूलपातीमा रिलिज भएको फिल्मले पछिल्लो सप्ताहन्तमा सुखद प्रदर्शन गर्यो । निर्माताले आइतबार फिल्मको दोस्रो सप्ताहन्तसम्मको ग्रस कलेक्सन सार्वजनिक गरेका छन् । फिल्मले उक्त अवधिमा ३ करोड २५ लाख रुपैयाँ ग्रस कमाइ गरेको प्रेषित विवरणमा उल्लेख छ ।
बसन्त निरौला निर्देशित फिल्मले पहिलो साता भने अपेक्षाकृत ओपनिङ गर्न सकेन । दोस्रो साता प्रवेशको सप्ताहन्तमा फिल्म अकुपेन्सीमा वृद्धि भएको देखियो । फिल्ममा बुद्धि तामाङ, रमेश बुढाथोकी, शिशिर वाङ्देल, प्रकाश घिमिरे, निमा पाण्डे, हिमेश पन्त, शिवहरी वैरागी, राजेन्द्र नेपाली, कविता आले, शिवु पाण्डे, इशान राउत लगायतका कलाकारको समेत अभिनय छ । रेड आई फिल्म्सको ब्यानरमा निर्मित र समीर पण्डित, सौगात पण्डित र पदमलाल तामाङको लगानी रहेको फिल्ममा विजय बस्याल कार्यकारी निर्माता, शंकर धितालको लेखन, सविन अधिकारीको कथा, श्याम तामाङको छायांकन, सञ्जय थापाको एक्सन, अर्जुन पोखरेल र महेश ताम्राकारको संगीत छ । यो फिल्म फूलपातीमा ‘छक्कापञ्जा ५’ र ‘१२ गाउँ’सँगै प्रदर्शनमा आएको थियो ।