विपद पूर्वको तयारीमा स्थानीय तह अझै कमजोर पाइएको छ । नेपालको भौगोलिक अवस्था अनि फरक हावापानीका कारण विपद्जन्य घटनाको प्रकृति पनि फरक–फरक देखिँदै आएको छ ।
पहाडी भेगमा पहिरो, तराईमा बाढी र हिमाली क्षेत्रमा हिम पहिरोका घटनाको स्वरुप फेरिँदै आएका छन् । तर पनि नागरिकको सबैभन्दा नजिकको सरकारको रुपमा रहेको स्थानीय सरकारले विपद पूर्वको प्रभावकारी तयारी नगरेका कारण विपदको क्षति कम हुन सकेको छैन ।
वर्षातको समयमा हिमाली र पहाडी भेगमा बाढी–पहिरो आउनु अनि तराईमा डुबान हुनु स्वभाविक भए पनि पूर्व तयारीका लागि स्थानीय सरकारबाट प्रभावकारी पहल नहुँदा समस्या भएको दोहोरिरहेको हो । पछिल्लो समय जलवायु परिवर्तनको असरका कारण एकै ठाउँमा धेरै पानी पर्ने र कतै सुख्खा खडेरी लाग्नेलगायतका समस्या बढ्दै गएको छ ।
स्थानीय सरकारले विपद् पूर्वको राम्रो तयारी गरे आगलागी, डढेलो, बाढी, पहिरो अनि डुबान जस्ता विपत्तीबाट हुने क्षति कम गर्न सकिने विज्ञहरू बताउँछन् ।