२०८२ बैशाख ३१ गते बुधवार
२०८२ बैशाख ३१ गते बुधवार

आज विश्व रेडियो दिवस

प्रविधिको भरपुर उपयोग गर्दै, शिक्षा, स्वास्थ्य, कृषि रोजगारी, जस्ता विषयमा समाचार तथा कार्यक्रम उत्पादन गर्न सुझाव


आज १४ औँ विश्व रेडियो दिवस, यसपालीको विश्व रेडियो दिवसको नारा ‘रेडियो र जलवायु परिवर्तन’ भन्ने रहेको छ । दिवसको अवसरमा सामुदायिक रेडियो प्रसारक संघ (अकोराब) नेपालको आयोजनामा आज ललितपुरमा विशेष कार्यक्रम हुँदैछ ।

अकोराबका अध्यक्ष अर्जुन गिरीले जलवायु परिवर्तनको असरका बारेमा समुदायस्तरमा सूचना र सचेतना जगाइरहेका सामुदायिक रेडियोले आफ्नो अस्तित्व जोगाउँदै अघि बढ्नुपर्ने अवस्था रहेको बताउनुभयो । सन् २०१२ मा संयुक्त राष्ट्रसंघको महासभाले अन्तर्राष्ट्रिय दिवसको रूपमा स्वीकार गरेपछि प्रत्येक वर्षको फेब्रुअरी १३ मा विश्व रेडियो दिवस मनाउने गरिएको छ ।

नेपालमा हाल तीन सयभन्दा धेरै सामुदायिक रेडियो छन् । शेयरकाष्ट इनिशियटिभ नेपालले कोरोना महामारीका समयमा गरेको राष्ट्रिय सर्वेक्षणमा सहभागीमध्ये करिब ८० प्रतिशतले रेडियो सुन्ने बताएका थिए भने नेपाल मिडिया सर्वेक्षण २०२२ अनुसार ४५ दशमलव २ प्रतिशतले रेडियो सुन्ने बताएका थिए । पछिल्लो समय प्रविधिको बढ्दो विकाससँगै नेपालमा रेडियो सुन्ने स्रोताको सङ्ख्या घटेको देखिएको छ ।

यद्यपी भूकम्प, बाढी पहिरो जस्ता विपत्तिदेखि स्वास्थ्य महामारी, निर्वाचन लगायतका घटना विशेषको समयमा भने स्रोता बढ्ने गरेका छन् । अर्थात् विषम परिस्थिति वा आपतकालीन अवस्थामा सूचना, सञ्चार तथा समाचारका लागि मानिसहरु रेडियोमै भर पर्ने गरेको देखिन्छ ।

आम स्रोताले भने रेडियोले आफ्ना सामग्री समय सापेक्ष बनाउनु पर्ने बताएका छन् । प्रविधिको भरपुर उपयोग गर्दै, शिक्षा, स्वास्थ्य, कृषि रोजगारी, जस्ता विषयमा समाचार तथा कार्यक्रम उत्पादन गर्न उनीहरुको सुझाव छ ।