नेपालमा पछिल्लो ६ महिनामा अनलाइन ठगीका १० हजार सात सय वटाभन्दा धेरै उजुरी दर्ता भएका छन् । साउनदेखि पुस मसान्तसम्म दर्ता भएका उजुरीमा ६२ करोड रुपैयाँभन्दा धेरै ठगी दाबी भएको नेपाल प्रहरीको साइबर ब्युरोको तथ्याङ्क छ ।
साइबर ठगीसम्बन्धी घटनाहरू साइबर ब्युरोमै दर्ता गर्नुपर्ने भएकोले सानातिना ठगीका घटनाहरू प्रहरीसम्म पुग्दैनन् । अघिल्लो आर्थिक वर्षमा अनलाइन ठगीका १९ हजार सात सय ३० वटा उजुरी दर्ता भएका थिए । सबैजसो ठगीको शुरुआत सामाजिक सञ्जालबाट भएको पाइएको ब्युरोका प्रवक्ता एवम् प्रहरी उपरीक्षक दीपकराज अवस्थीले बताउनुभयो ।
उहाँका अनुसार धेरैजसो घटना सामाजिक सञ्जालमा राखेका विज्ञापनमा लोभिएर हुन्छ । कतिपयले भाइबर, ह्वाट्सएप लगायतमा सन्देश पठाएर ठगी गर्छन् । साइबर ब्युरोको तथ्याङ्कानुसार चिट्ठा वा उपहारको बहानामा हुने ठगी धेरै छ ।
यस्तै भाडामा सस्तो मूल्यमा कोठा वा फ्ल्याट दिलाइदिन्छु भन्दै रकम लिएर सम्पर्कविहीन हुने घटना पनि धेरै छ । अनलाइनमार्फत सामान खरिद गर्दा अग्रिम भुक्तानी गर्न लगाउने र रकम पाएपछि सम्पर्कविहीन भएका घटना पनि छन् । अनलाइन किनमेलमा कतिपयले नागरिकता लगायतका कागजपत्र मागेर पछि दुरुपयोग गरेको पनि पाइन्छ ।
यस्तै आफ्नो सम्पत्ति सम्हाल्ने कोही पनि नभएको भन्दै उत्तराधिकारी बन्न आग्रह गर्ने र कर वा खर्च भन्दै रकम लिएर सम्पर्कविहीन हुने घटना पनि छन् । कतिपयले आकर्षक रोजगारीको प्रलोभन देखाएर रकम ठगेका पाइन्छ ।
महिलाको आकर्षक तस्वीर प्रयोग गरेका ह्वाट्सएपबाट भिडिओ कल गरी अन्तरङ्ग तस्वीर वा भिडियो लिएर साथी वा आफन्तलाई पठाउने धम्की दिएर पैसा असूल्ने घटना पनि उत्तिकै हुने गरेका छन् ।यस्ता ठगीबाट बच्न आफू सचेत हुनु नै सबैभन्दा उत्तम उपाय रहेको प्रहरीको भनाइ छ ।