२०८२ साउन ४ गते शनिवार
२०८२ साउन ४ गते शनिवार

तुलसीपुर महोत्सव सुरु

संस्कृति र परम्परासँग उद्यमशीलतालाई जोडेर लैजानुपर्नेमा जोड

दाङको तुलसीपुरमा आजदेखि दोस्रो तुलसीपुर महोत्सव २०८१ सुरु भएको छ।’ स्वरोजगार आत्मनिर्भरता हाम्रो आधार: सहरदेखि गाउँसम्म व्यापार विस्तार ‘ भने मूल नाराका साथ सञ्चालन भएको महोत्सवको भव्य उद्घाटन समेत गरिएको छ। तुलसीपुर चेम्बर अफ कमर्सका अध्यक्ष ऋषिराज भण्डारीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपानेको प्रमुख अतिथितामा महोत्सवको भव्य उद्घाटन गरिएको हो।

महोत्सवको उद्घाटन गर्दै मन्त्री न्यौपानेले ठूला उद्योग स्थापनाले मात्रै मुलुक नबन्ने भन्दै उद्यमशीलतालाई मेला महोत्सवले जोड्नुपर्ने बताउनु भएको छ । लुम्बिनी प्रदेश बहु बहुभाषिक, बहुसांस्कृतिक, कला संस्कृति पर्यावरणमा भरिपूर्ण रहेको भन्दै संस्कृति र परम्परासँग उद्यमशीलतालाई जोडेर लैजानुपर्ने उहाले बताउनु भएको हो।

मन्त्री न्यौपानेले मेला महोत्सवलाई केवल मनोरञ्जनको माध्यम मात्रै नभई ज्ञान, सीप, र व्यवसाय प्रवर्द्धनको पाठशालाका रूपमा विकास गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो

उहाले स्थानीय उत्पादन, पर्यटन, कला, र संस्कृति प्रवर्द्धनमा यस्ता महोत्सवहरू प्रभावकारी हुने भन्दै स्थानीय उद्यमशीलताको विकासमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।

तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख टिकाराम खड्का उपप्रमुख स्यानी चौधरी, राष्ट्रिय सभा पूर्व सदस्य कोमल ओलि, संविधानसभा सदस्य अनारकलि मिया, लुम्बिनी प्रदेश सांसद रेखा शर्मा लगायतले मेला महोत्सवले उत्पादनको विकास,प्रवर्द्धन,व्यापार व्यवसाय चलायमान हुने अपेक्षा लिएको बताएका छन् ।

महोत्सव उद्घाटनका अवसरमा नेपाली काङ्ग्रेस नेकपा एमाले नेकपा माओवादी लगायतका विभिन्न राजनीतिक दलका नेता तथा प्रतिनिधिहरूले शुभकामना व्यक्त गरेका थिए। कार्यक्रमको सहजीकरण तुलसीपुर चेम्बर अफ कमर्सका महासचिव दुर्गा शर्मा र सनोद थापाले गरेका थिए।

महोत्सवमा विभिन्न स्थानीय उत्पादन, कृषि, हस्तकला, परम्परागत परिकार, तथा पर्यटन प्रवर्द्धनका स्टलहरू राखिएका छन्। स्थानीय व्यवसायी, उद्यमी, तथा सरोकारवालाहरूले पर्यटन र उद्योग प्रवर्द्धनका लागि यस्ता महोत्सवहरू निरन्तर आयोजना गर्नुपर्नेमा जोड दिएका छन्।उद्घाटनका अवसरमा झाँकी र्याली पन्चेबाजा सहितको शोभा कलश यात्रा प्रदर्शन गरिएको थियो। उद्घाटन कार्यक्रमको स्वागत चेम्बर अफ कमर्सका उपाध्यक्ष सन्तोष कुमार खड्काले गरेका थिए। महोत्सव १६ गतेसम्म सञ्चालन हुनेछ, जसमा सांस्कृतिक कार्यक्रम, कृषि प्रदर्शनी, तथा उद्यमशीलता प्रवर्द्धनसम्बन्धी विभिन्न कार्यक्रमहरू समावेश छन्।