नेकपा एमालेका महासचिव शंकर पोख्रेलले देश विकासको पहिलो आधार प्राविधिक शिक्षा भएको बताउनुभएको छ । तुलसीपुर बहुप्राविधिक शिक्षालय र तुलसीपुर मेट्रो कलेज तुलसीपुर १२ हरिपौरीको सभाहलको शिलन्यास कार्यक्रममा बोल्दै पोख्रेलले देश विकासका लागि प्राविधिक शिक्षामा लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।
शिक्षालय संचालक समितिका अध्यक्ष टिकाराम खड्काको अध्यक्षतामा भएको सभाहल शिलन्यास कार्यक्रममा बोल्दै प्रमुख अतिथि शंकर पोख्रेलले आफुले अध्ययन गर्ने विषय अनुसारको उद्यमशिलतामा जोड दिन सुझाव दिनुभयो ।त्यसैगरी कार्यक्रममा बोल्दै राष्ट्रिय सभाका पूर्व सदस्य कोमल वलीले विद्यार्थीको क्षमता बृद्धिका लागि सभाहलको पनि महत्वपूर्ण भुमिका रहने बताउनुभयो ।
दक्ष जनशक्तिका रुपमा आफुलाइ विकास गरेर आफ्नो सिप र दक्षतालाइ स्वदेश मै लगाउन विद्यार्थीहरुलाइ आग्रह गर्नुभयो । शिक्षालयका संस्थापक अध्यक्ष घनश्याम पाण्डेले कलेजले दक्ष जनशक्ति उत्पादन गर्नेमा आफु विश्वस्त रहेको बताउनुभयो । लुम्बिनी प्रदेश सरकारको ८० लाख लागतमा यसै वर्ष सकिने गरि सभाहल निर्माण हुने शिक्षालय संचालक समितिका अध्यक्ष टिकाराम खड्काले जानकारी दिनुभयो ।
सो अवसरमा सामाजिक विकास डिभिजन कार्यालय प्रमुख गिरिराज पाण्डे, भुमि आयोग दाङका अध्यक्ष हुकुम बस्नेत लगायतकाले बोल्नुभएको थियो । शिक्षालय संचालक समितिका उपाध्यक्ष स्यानी चौधरीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षालय प्रमुख वसन्त कुमार आचार्यले गर्नुभएको थियो ।