२०८२ बैशाख ३१ गते बुधवार
२०८२ बैशाख ३१ गते बुधवार

करिब १९ अर्ब रुपैयाँ बराबरको स्मार्टफोन आयात


चालु आर्थिक वर्षको सात महिना अर्थात साउनदेखि माघसम्म करिब १९ अर्ब रुपैयाँबराबरको स्मार्टफोन आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार माघसम्म विभिन्न देशबाट १२ लाख २९ हजार थान स्मार्टफोन आयात गर्दा १८ अर्ब ९८ करोड रुपैयाँभन्दा बढी बाहिरिएको छ ।

गएको आर्थिक वर्षको यसै अवधिमा १७ अर्ब ३८ करोड रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको थियो । सबैभन्दा धेरै स्मार्टफोन चीनबाट आयात भएको छ । चीनबाट ७ महिनामा झण्डै १३ अर्ब रुपैयाँ बराबरको ९ लाख ५३ हजार थान स्मार्टफोन आयात भएको भन्सार विभागको तथ्याङ्क छ ।

यस्तै भारतबाट ५ अर्ब ६२ करोड रुपैयाँ बराबरको २ लाख ७२ हजार थान स्मार्टफोन आयात भएको छ । स्मार्टफोन आयातबाट सरकारले सात महिनामा ३ अर्ब ५३ करोड ९७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।।