तुलसीपुर उपमहानगरपालिका वडा नंवर ७ गैरापातुका पूर्ण बहादुर थापा । उमेरले उहाँ ६९ वर्ष पुग्नु भयो । उहाँ सल्यानमा जन्मिनु भयो तर अहिले दाङमा बस्दै आउनु भएको छ । मगर समुदायमा जन्मिनु भएका पूर्ण बहादुरलाई आफ्नो मातृभाषा बोल्न आउँदैन । बोल्न आउनु त परको कुरा हो, मगर खाम भाषाको एउटा शब्द पनि उहाँलाई थाहा छैन ।
‘सल्यानमा जन्मिएता पनि मलाई मातृभाषा बारे केही था छैन । कहिलेकाँही पुराना मान्छेले बोलेको सुन्दा आफ्नै मातृभाषा सुनेर छक्क पर्छु,’ पूर्ण बहादुरले भन्नुभयो– ‘बुवाआमाले नै सिकाउनु भएन सिकाएको भए जान्थे होला, आफैले त जान्दैन अव मेरा छोराछोरी नातीनातिनालाई मैले के सिकाउने?’ आफूले आफैलाई मातृभाषाबारे प्रश्न गर्दै मातृभाषा नजानेरै उमेर ढल्किएको पूर्ण बहादुर आफ्ना सन्तानलाई सिकाउन नसकेकोमा आत्मग्लानीको महसुश गर्नुहुन्छ । तर आफूले नजाने पनि खाम भाषा बोल्न जानेकालाई सोध्ने, मगर खाम मातृभाषा सिक्ने गर्नुपर्छ भनेर नयाँ पुस्तालाई सुझाव दिनुभयो ।
यस्तै पूर्ण बहादुर जस्तै रुकुम पश्चिम बाँफिकोट गाउँपालिका वडा नंवर ९ का २६ वर्षिय रमिता मगरलाई पनि मातृभाषा अर्थात मगर खाम भाषा बोल्न आउँदैन । उहाँ बुवाआमासँग सानैदेखि भारत बसेकाले मातृभाषा सिक्ने र बोल्ने अवसर गुमाएको बताउनुभयो । बेरोजगार भएर बस्नु भन्दा रोजगार खोज्दै भारत पसेका अभिभावकसँग भारतकै वातावरण, चालचलन, रहनसहनमा हुर्किनु भएकी रमितालाई आफ्नो मातृभाषा त के, मगर समुदाय, संस्कृतिको बारेमा पनि जानकारी नभएको बताउनुहुन्छ । ‘घरमा दाईहरु सानैदेखि रुकुममै बस्नु भयो, त्यहाँ मगर समुदाय मात्रै छौँ । दाईहरु बोल्नुहुन्छ तर मलाई आउँदैन’ रमिताले भन्नुभयो ।
यसरी पुराना पुस्ताले नयाँ पुस्तालाई आफ्नो समुदाय, मातृभाषा, संस्कृतिबारे नसिकाउँदा वञ्चित भैरहेको रमिता र पूर्ण बहादुर एक उदाहरणीय पात्र मात्रै हुनुहुन्छ । उहाँ जस्ता धेरै नागरिकहरु मातृभाषाबारे सामान्य जानकार समेत नभएको पाइन्छ । समग्र मगर समुदायको प्रतिनिधित्व गर्ने मगर संघ दाङले मातृभाषा संरक्षण गर्न आफ्नो तर्फबाट गर्नसक्ने कामहरु गरिरहेको मगर संघ दाङका कार्यबाहक अध्यक्ष मुक्ती बुढामगरले बताउनुभयो ।
कुनै पनि समुदायको भाषा लोप हुनु भनेको त्यो सिङगो समुदाय नै लोप हुनु हो भन्ने बुझाई आफ्नो रहेको भन्दै आफ्नो तर्फबाट दिनदिनै लोप भैरहेको मगर खाम भाषा संरक्षणमा कटिबद्ध भएर लागिरहेको बताउनु भयो । ‘अहिले त मगर खाम भाषा धेरै नै लोप भैसक्यो अव सिङगो मगर समुदाय र मगर संघले मात्रै पनि संरक्षण गर्न सक्दैन प्रमुख दायित्व राज्यको हो’ उहाँले भन्नुभयो–‘त्यसैले राज्यले नै गम्भीर भएर लाग्नु पर्ने, नितिहरु बनाइदिने, बजेट छुट्याउने, पाठ्यक्रम निर्माण गर्ने र विद्यालयमा मातृभाषाको पढाइलाई निरन्र्तता दिनुपर्छ ।’
मगर भाषा संरक्षण गर्न घोराहीमा मगर भाषामा पढाई हुने
यता दाङका १० वटै पालिकामा छिटफुट रुपमा भए पनि मगर समुदायको बसोबास रहेको पाइन्छ । सबै पालिकामा मगर समुदायको बसोबास भएपनि मगर भाषामा पठनपाठन भने कतै पनि सुरु हुन सकेको छैन । घोराही उपमहानगरपालिकाले मातृभाषा संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यले मगर भाषामा पठनपाठन सुरु गर्ने भन्ने योजना भने बनाएको छ । स्थानिय पाठ्यक्रम निर्माण गरेर थारु भाषामा अध्ययन अध्यापन गराइरहेको घोराहीले मगर खाम भाषामा पनि अध्ययन अध्यापन गराउने योजना अघि सारेको उपप्रमुख हुमा कुमारी डिसीले बताउनुभयो ।
‘मातृभाषामा पढाउँदा स्थानिय समुदाय र उनीहरुका मातृभाषालाई बचाउन सकिन्छ,’ उहाँले भन्नुभयो । साविकको सैघा गाविस हाल घोराही उपमहानगरपालिका १९ होडबाङमा रहेको भगवती माध्यमिक विद्यालयमा मगर भाषामा पढाइ हुने विद्यालय र उपमहानगरपालिकाविच सहमती भएको छ । जुन विद्यालयमा अहिले ७० प्रतिशत विद्यार्थी मगर समुदायकै रहेको विद्यालयका प्रधानाध्यापक कृष्ण डाँगीले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यालयमा चालु शैक्षिक सत्रको विद्यार्थी भर्नादर अनुसार ४ सय ८३ जना विद्यार्थी रहेकोमा ३० प्रतिशत मात्रै अन्य समुदायका छन् ।
मगर समुदायका बालबालिकाको संख्या अरु समुदायको भन्दा तुलनात्मक रुपमा धेरै भएकाले उपमहानगरपालिकामा प्रश्ताव गर्दा वजेटको व्यवस्थापन गर्ने गरी सहर्ष स्वीकार र स्वागत गर्नुभयो’ उहाँले भन्नुभयो । जुन स्थानमा जुन समुदायको बसोबास छ त्यही समुदायको पाठ्यक्रम तयार गरेर विद्यालयदेखि नै लागु गरेमा एकातिर मातृभाषा संरक्षणमा सहयोग पुग्ने देखिन्छ भने अर्कोतिर मातृभाषा र समुदायलाई जीवित राख्न सकिने सरोकारवालाहरुले बताउँछन् ।
मगर समुदाय नेपालको कुन श्रेणीमा पर्छ?
जनसङ्ख्याको हिसाबले नेपालको तेस्रो ठूलो जाति र जनजातिहरूको हकमा प्रथम श्रेणीमा पर्ने मगर समुदाय हो । लुम्बिनी प्रदेशको गुल्मी, प्युठान, रोल्पा, पाल्पा, अर्घाखाँची, रूपन्देही लगायत देशका अन्य जिल्लाहरु सिन्धुली, स्याङ्जा, तनहुँ, सल्यान, काठमाडौँ, रामेछाप, महोत्तरी, स्याङ्जा, नवलपरासी, म्याग्दी, बाग्लुङ, पर्वत, डोल्पा, हुम्ला, सुर्खेत, धनकुटा, सिन्धुली, उदयपुर संखुवासभा, गोर्खा, धादिङ लगायतका क्षेत्रहरूमा पनि बसोबास गर्दछन ।
मगरहरूको बसोबास स्थितिलाई नियाल्दा नेपालको साविकको (१४ अञ्चल, ७५ जिल्ला) हाल ७ प्रदेश ७७ वटै जिल्लामा बाहुल्यता रहेको सबभन्दा ठूलो संख्या भएको जनजातीको रुपमा रहकको पाइन्छ ।
मातृभाषाबारे संविधानमा के व्यवस्था छ ?
नेपालको संविधान २०७२ को धारा ६ मा नेपालमा बोलिने सबै जातजातीको भाषा राष्ट्र भाषा भनी उल्लेख गरिएको छ । यस्तै धारा ३१ मा शिक्षा सम्बन्धी हक अन्तर्गत दफा (५) मा नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई कानून बमोजिम आफ्नो मातृभाषामा शिक्षा पाउने र त्यसका लागि विद्यालय तथा शैक्षिक संस्था खोल्ने र सञ्चालन गर्ने हक हुनेछ भनिएको छ ।
यति मात्रै होइन धारा ३२ मा भाषा तथा संस्कृतिको हक को दफा (१) मा प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो भाषा प्रयोग गर्ने हक हुनेछ । उपदफा (२) मा प्रत्येक व्यक्ति र समुदायलाई आफ्नो समुदायको सांस्कृतिक जीवनमा सहभागी हुन पाउने हक हुनेछ, भनिएको छ । दफा (३) मा नेपालमा बसोबास गर्ने प्रत्येक नेपाली समुदायलाई आफ्नो भाषा, लिपि, संस्कृति, सांस्कृतिक सभ्यता र सम्पदाको संवर्धन र संरक्षण गर्ने हक हुनेछ, भनिएको छ ।
नेपालको संविधानले मातृभाषा संरक्षणका लागि थुप्रै हकअधिकार दिएको छ । तर ती अधिकारलाई नागरिक र राज्यले उपयोग र व्यवहारमा कार्यान्वयन गर्न नसक्दा संरक्षणमा समस्या भैरहेको छ ।।