२०८२ बैशाख ३१ गते बुधवार
२०८२ बैशाख ३१ गते बुधवार

९ औं थारु साहित्य राष्ट्रिय सम्मेलनको तयारी पुरा


९ औं थारु साहित्य राष्ट्रिय सम्मेलनको तयारी पुरा भएको छ । थारु लेखक संघ नेपाल तथा जंग्रार साहित्यिक बखेरीको संयुक्त आयोजनामा बर्दियास्थित राजापुर–२, जोेतपुर गाउँमा शुक्रबारदेखि फागुन १७ गतेसम्म चल्ने सम्मेलनको तयारी पुरा भएको हो ।

सो सम्मेलनमा आठ वटा छलफल सत्र राखिएको छ । सम्मेलनको उद्घाटन सत्रलाई बोझिलो नबनाउन यसपाली कसैलाई प्रमुख अतिथि नतोकिएको जंग्रार साहित्यिक बखेरी बर्दियाका अध्यक्ष सोम डेमनडौराले जानकारी दिनुभयो। उहाँका अनुसार सम्मेलनमा पूर्व मन्त्री डा गोपाल दहित, लुम्विनी प्रदेश सांसद धर्म बहादुर थारु, पूर्व मेयर दुर्गा बहादुर थारु कबिरसँग अधिवक्ता सन्तराम धारकटुवा थारुले विकास र बाधा शीर्षकमा छलफल गर्नुहुने कार्यक्रम छ ।

यस्तै संस्कृतिकर्मीत्रय एकराज चौधरी, मिनराज चौधरी, भगवती प्रसाद चौधरीसँग रेडियो गुर्वावाकी स्टेशन म्यानेजर पुष्पा चौधरीले बर्किमार (थारु महाभारत) का पात्रबारे सेसन चलाउनु हुनेछ । माओवादी सशस्त्रमा द्वन्द्वमा सबैभन्दा बढी बेपत्ता पारिनेमा बर्दियाको थारु समुदाय रहेको छ ।

सोही प्रसङ्गमा, संक्रमणकालीन न्याय र द्वन्द्वपीडितको सवाल शीर्षकमा थारु आयोगका अध्यक्ष विष्णुप्रसाद चौधरी, मेयर दिपेश थारु राजेश, तथा द्वन्द्वपीडित समाजका अध्यक्ष भागीराम थारुसँग अध्येता शेखर दहितले बहस कार्यक्रम गर्नुहुनेछ । यसैगरी, थारु लोक साहित्यको संरक्षणमा युनिक नेपालको भूमिका शीर्षकमा डा. गोपाल दहित, प्रिम बहादुर थारुसँग डा. कृष्णराज सर्वहारीले बहस गर्नुहुनेछ भने साहित्यको लागि एक कप चिया अभियानबारे सोम डेमनडौरा, मोहन चौधरी, शेखर दहितसँग सानु चौधरीले छलफल गर्नुहुने कार्यक्रम रहेको छ ।

त्यस्तै, ठुम्रार बसघरा बाटचिट शीर्षकमा बुद्धसेन चौधरी, उन्नती चौधरी, शत्रुघन चौधरीसँग बालिका चौधरीले छलफल चलाउने कार्यक्रम तय गरिएको थारु लेखक संघ नेपालका अध्यक्ष डा कृष्णराज सर्वहारीले बताउनुभयो । उहाँका अनुसार तीन दिनसम्म चल्ने सो सम्मेलनको आकर्षण निर्देशक प्रदिप भट्टराई तथा कलाकार, निर्माता रविन्द्रसिंह बानिया रहनु हुनेछ । उहाँहरुसँग निर्देशक सुरजदेवले सिनेमा के बन्यो, के बनेन शीर्षकमा बहस चलाउनु हुनेछ ।

बालाबजारमा गजल साँझ पनि आयोजना गरिने बताइएको छ । यस्तै प्यानल छलफलमा ‘राजापुर नगरपालिकाको शिक्षा यात्रा’ शीर्षकमा राजापुर नगरपालिकाका मेयर दिपेश थारु राजेश, पूर्व जिल्ला शिक्षा अधिकारी जीत बहादुर शाह, पूर्व प्रधानाध्यापक किरण आचार्यसँग युवक माविका प्रधानाध्यापक नरेश कुमार थारुले बहस चलाउनु हुनेछ ।।