राष्ट्रिय आविष्कार केन्द्रले सङ्घीय अस्पतालहरूमा बिग्रिएर थन्किएका पाँच सय उपकरणको मर्मत सम्पन्न गरेको छ । गएको भदौ १८ गते स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले बिग्रिए पनि मर्मत अभावमा थन्किएका १७ वटै सङ्घीय अस्पतालका उपकरणको अध्ययन र मर्मत गर्न केन्द्रका प्रमुख महावीर पुनसँग सम्झौता गर्नुभएको थियो ।
मन्त्री पौडेलको उपस्थितिमा भएको सम्झौतापछि अहिलेसम्म १० वटा सङ्घीय अस्पतालका पाँच सय उपकरण मर्मत भएको हो । ६ सय ६१ वटा उपकरणको मूल्याङ्कन गरिएकामा पाँच सय मर्मत सम्पन्न भएको केन्द्रका इन्जिनियर उमेश किरातीले बताउनुभयो ।
केन्द्रले २३ लाख २० हजार रुपैयाँमा ती सामग्री मर्मत सम्पन्न गरेको उहाँले जानकारी दिनुभयो । बजार मूल्य सर्वेक्षण गर्दा २४ करोड ३० लाख रुपैयाँ लाग्ने जानकारी आएकामा २३ लाख रुपैयाँमै हुनु भनेको निकै कम खर्चमा ती उपकरणको मर्मत भएका उहाँको भनाइ छ ।
यसैबीच करोडौं रुपैयाँ बचत भएको प्रगति रिपोर्ट आएको भन्दै स्वास्थ्यमन्त्री पौडेलले केन्द्रलाई धन्यवाद दिँदै निरन्तर सहकार्य गर्ने प्रतिबद्धता जनाउनुभएको छ । स्वदेशी सीपको प्रयोग गरेर अस्पतालको सेवा सुधार गर्ने अभियानमा सबैको साथ र सहकार्य निरन्तर रहने उहाँको भनाइ छ ।।