नेपाल शिक्षक महासङ्घले फेरि काठमाडौंमा प्रदर्शन गरेको छ। आज शिक्षकहरूले माइतीघरदेखि बिजुलीबजारसम्म प्रदर्शन गर्दै शिक्षा ऐन जारी गर्न सरकारमाथि दबाब बढाएका छन्।
महासङ्घले विगतमा भएका सहमति अनुसार अग्रगामी शिक्षा ऐन जारी गर्ने माग गर्दै माघ २० गतेदेखि आन्दोलन सुरु गरेको हो। फागुन १७ गतेसम्म, शिक्षक महासङ्घले स्थानीय, जिल्ला, प्रदेश र केन्द्रमा विभिन्न कार्यक्रमको आयोजना गरेर पहिलो चरणको आन्दोलन सम्पन्न गरेको थियो।
यसअघि पनि, गत वर्षको असोजमा देशभरका शिक्षक कर्मचारीहरूले काठमाडौंका सडकमा उत्रेर लम्पसार भएर सुतेका थिए। त्यसपछि सरकारसँग दुईपटक सहमति गरिएको थियो । सहमतिअनुसार, विद्यालय शिक्षा विधेयकमा शिक्षकहरूको माग समावेश गर्ने कुरा गरिएको थियो, तर माग पुरा नभएको भन्दै शिक्षकहरू फेरि सडकमा आएका हुन् ।