२०८१ चैत्र ६ गते बुधवार
२०८१ चैत्र ६ गते बुधवार

 थारु समुदायको विवाहमा लगाइने मौलिक भेषभूषामा परिवर्तन

थारुहरुको संकृति अलिखित भएका कारण पनि संरक्षण र पुस्तान्तरणमा समस्या

मौलिकता सहितको परम्परागत भेषभूषामा सजिएका दुलहा दुलहीको तस्वीर

थारु समुदायमा माघ र फागुन महिनालाई विशेष गरी विवाहको महिनाको रुपमा लिने गरिन्छ । ‘विवाह’लाई थारु भाषामा ‘भ्वाज’ भनिन्छ । माघ र फागुन महिना बाहेक अन्य महिना जस्तै असोज, कात्तिक, मंसिर, वैशाख, असार महिनामा परेका लगनको शुभ दिनमा विवाह नहुने भन्ने भने होइन । अन्य महिनामा पनि विवाह गर्न मिल्छ र हुन्छ पनि । विगतदेखि नै हुँदै पनि आएका छन् । तर यस समुदायमा विशेष गरी माघ र फागुन महिना विवाहको महिनाका रुपमा लिइन्छ । थारु समुदायको विवाहमा हुने संस्कार र उपसंस्कार अन्य समुदाय भन्दा भिन्नै हुन्छ । जुन विवाहका संस्कार उपसंस्कार थारु समुदाय बाहेक अन्य समुदायमा गरिदैन र अन्य समुदायको परम्परा, संस्कारसँग मेल पनि खाँदैन । तर ती संस्कार र उपसंस्कारहरु पछिल्लो समय लोप हुँदै गएका छन् । नयाँ पुस्ता त यो विषयमा केही जानकार नै छैनन् भने पुराना पुस्ताले समेत चासो नदेखाएको पाइन्छ । सबै जना आधुनितामा रमाउन थारिसकेका छन् ।
कँहिकतै आफ्ना परम्परागत मौलिक संस्कारलाई संरक्षण गर्नुपर्छ भन्ने सोचाइ देखिएतापनि नयाँ पुस्ताले त्यसलाई स्वीकार गदैनन्, कारण पुराना पुस्ताले यी परम्परा तथा संस्कारहरुको महत्व र आवश्यकताबारे नबुझ्नु र नबुझाउनु नै रहेको थारु समुदायका थारु अगुवाहरुले बताउँछन् । विज्ञान र प्रविधिको विकाससँगै अवका नयाँ पुस्ताहरु आधुनिक र नयाँनयाँ कुराहरुमा भिज्न थालेका छन् । उनीहरुलाई आफ्नो भन्दा अरुको संस्कार संस्कृति मन पर्न थालिसक्यो । आफ्नो संस्कार भन्दा पनि देखावटी र देखासिकीमा थारु समुदायको संस्कार परिणत हुन थालेको छ । यसलाई संरक्षण गर्न निकै चुनौती रहेको थारु संस्कार संस्कृतिका जानकारले बताउँछन् ।
थारु समुदायमा हुने विवाहको मात्रै कुरा गरिरहँदा विवाह एउटा संस्कार हो भने यस भित्र धेरै उपसंस्कारहरु छन् । एउटा उपसंस्कार र संस्कृतिमा थारुहरुको भेषभूषा पनि पर्दछ । थारु समुदायको विवाहमा लगाइने भेषभूषा आफ्नै परम्परा अनुसारको छ तर उक्त मौलिक भेषभूषा पछिल्लो समय लोप हुँदै गएको छ । विवाहमा लगाउने थारु परम्परागत गरगहनासँगै भेषभूषा लगाउनै छोडिएको थारु समुदायका नागरिकहरुले बताउँछन् ।

आधुनिक भेषभूषामा सजिएका दुलहा दुलहीको तस्वीर

थारु समुदायको विवाहमा दुलहा र दुलहीले लगाउने भेषभूषा सेतो रङको हुन्छ । जुन अन्य समुदायको भन्दा निकै फरक हुने गर्दछ । दुलहाले लगाउने चौबन्दी (मार्किन भन्ने कपडाको सेतो रङको भोटी), लहङ्गा (लङ्घौटी), टाउकोमा लगाउने पगिया (सेतो कपडा), दुलहीले लगाउने चोल्या, १२ हातको लामो फ¥या (साडी जस्तै कपडा), बरोहर, घुम्टो जस्ता कपडाहरु लगाउने गरिन्छ । तर यस्तो भेषभूषा आजभोली लगाउन छोडेको तुलसीपुर ५ का सुशीला चौधरीले बताउनुभयो । ५५ वर्षकी सुशीलाले आफ्नो विवाहमा यस्तो भेषभूषा लगाएको स्मरण गर्दै आफ्नो अव त पुराना दिन जमाना सबै फेरिएको बताउनु भयो । ‘हाम्रो पुस्ताको विवाहमा सबै सेतो थारु ड्रेस नै लगाएर विवाह हुन्थ्यो अव त कसैले पनि लगाउँदैनन्’ उहाँले भन्नुभयो । गत वर्ष मात्रै तुलसीपुर १० की सचिता चौधरीको विवाहमा दुलहा र दुलहीलाई थारु मौलिक भेषभूषा लगाएर विवाह गरियो । उनीहरुको विवाहमा सरिक भएका सबैले धेरै वर्ष पछि थारु समुदायको विवाहमा लगाइने भेषभूषा लगाएको देख्न पाएकोमा हर्षित भए भने सचिताको विवाहको फोटो सामाजिक सञ्जालमा पनि आयो । धेरैले थारु समुदायको विवाहको भेषभूषा, संस्कृति देख्न पाइयो भनेर खुशी हुँदै यसलाई संरक्षण गर्नुपर्छ भन्ने कुराले सचिताको गाउँमा निकै व्यापकता पायो । तुलसीपुर १० की २१ वर्षिय सुस्मिता चौधरीले विवाहमा लगाइने मौलिक परम्परागत भेषभूषा पहिलोपटक आफ्नै साथीको विवाहमा देखेको बताउनुभयो । ‘बुवाआमा, हजुरबुवा हजुरआमाले भनेको मात्रै सुनेको थिएँ, कहिलेकाँही कसैकसैको फोटो देखेको थिएँ तर प्रत्यक्ष रुपमा यस्तो कपडा पहिलोपटक देखेँ’ उहाँले भन्नुभयो । सचिता र सुस्मिताको गाउँमा सचिताको विवाहपछि धेरैको विवाह पनि भयो । तर कसैले पनि मौलिक भेषभूषा लगाएनन् ।’ सुस्मिताले भन्नुभयो– ‘गाउँमा भएका सबैको विवाहमा जान त सकिन तर फोटो सबैको देखेँ । सबैले आधुनिक भेषभूषा लै लगाएर विवाह गरे । यसरी त हाम्रो संस्कृति कसरी पो संरक्षण गर्न सकिएला र खै ?’ भन्दै उहाँले चिन्ता व्यक्त गर्नुभयो ।’

संस्कृतिका जानकारले के भन्छन् त
आफ्नो भन्दा पनि अरुको भेषभूषा राम्रो देख्नु, नयाँनयाँ डिजाइनडिजाइनका साडी, लेहेङ्गा लगायतका आधुनिक कपडाहरुप्रति आकर्षित हुनु, दोस्रो समुदायको प्रभाव पर्नु, आफ्नो मौलिक संस्कृतिको महत्व नबुझ्नु, आफ्नो समुदायको भेषभूषाको महत्वबारे अगाडिका पुस्ताले जानकारी नगराउनु लगायत कारणले लोप हुदै गएको थारु संस्कृतिका जानकार छविलला कोपिलाले बताउनुभयो । यसै गरी थारुहरुको संस्कृति अलिखित भएका कारण थारुको संस्कृति लोप हुँदै गएको उहाँको भनाइ छ । त्यसैले मौलिकता जोगाउनका लागि विशेष चाडपर्व, विवाह जस्ता विशेष कार्यक्रममा थारु समुदायका नागरिकहरुले मौलिक परम्परागत भेषभूषा लगाउन आवश्यक रहेको कोपिलाले बताउनुभयो । यसै गरी थारु संस्कृति विद् अशोक थारुले पछिल्लो समय भेषभूषामा आधुनिकतासँगै विभिन्न विकृतिहरु भित्रिरहेको बताउनुहुन्छ । विवाहमा दुलहाले टाउकोमा लगाउने पगिया जसलाई थारु भाषामा ‘पग्या’ भनिन्छ । ‘यो पग्या विशेष पद धारण गरेको व्यक्तिलाई दिने सम्मानको एउटा सूचक अर्थात प्रतीक हो । अहिले सहजै बुझ्ने भाषामा भन्दा एक प्रकारको मेडल हो । राजाकालीन समयमा दिइने श्रीपेच जस्तै हो ।’ उहाँले भन्नुभयो– ‘त्यस कारण यो पग्या लगाउनेमा आजभोली केही विकृति आएको जस्तो मलाइ लाग्छ । दुलहालाई लगाउने पग्या अव त थारुहरुको विभिन्न कार्यक्रममा प्रमुख अतिथि अतिथिहरुलाई लगाउने गरिन्छ ।’ जुन यो विकृतिको रुपमा फैलिरहेको जस्तो आफूलाई लागेको संस्कृति विद् थारुले बताउनुभयो । पग्याको उदाहरण दिदै यस्ता थुप्रै विकृत चालचलनहरु भित्रिदै गएको भन्दै उहाँले सांस्कृतिक विचलनहरुलाई रोक्नु पर्ने धारणा छ । ‘लोक सांस्कृतिक परम्परालाई बचाउन सकिएन भने थारुहरुको पहिचान नै मेटिएर जाने छ’ उहाँले भन्नुभयो । थारुहरुको संकृति अलिखित भएका कारण पनि संरक्षण र पुस्तान्तरणमा केही समस्या रहेको संस्कृतिविद् थारुको भनाइ छ । परम्परागत संस्कृति संरक्षणका लागि संयुक्त राष्ट्रसंघ (युनेस्को) ले ‘आइएलओ ओन सिस्स नाइन’ महासन्धी जारी गरेको छ । जसको बुँदा नंबर १ मा भाषा सहितको मौखिक पराम्परा भनेर उल्लेख गरिएको छ । आदिवासी जनजातीहरुको साँस्कृतिक पहिचानका लागि आइएलओ महासन्धील जारी गरेको उहाँले बताउनुभयो । युनेस्को जस्तो संस्थाले हाम्रो संस्कृतिबारे महासन्धि नै जारी गरेको छ भने यसमा कतै हामी नै संरक्षणमा चुकिरहेका छौँ कि जस्तो लाग्ने गरेको उहाँले बताउनुभयो ।।