२०८१ चैत्र ६ गते बुधवार
२०८१ चैत्र ६ गते बुधवार

तेरिया मगर अव दयाहाङ राईसंग ‘मितज्यू’बाट फिल्ममा डेब्यु गर्दै

भारतीय टिभी रियालिटी शो ‘डान्स इण्डिया डान्स लिल मास्टर्स’को सिजन ३ र ‘झलक दिखलाजा’ सिजन ९ की विजेता डान्सर तेरिया फौजा मगरले नेपाली फिल्मको अभिनयमा डेब्यु गर्ने पक्का भएको छ । दयाहाङ राईको समेत अभिनय रहने फिल्म ‘मितज्यू’मा मगरले डेब्यु गर्ने निश्चित भएको छ । यसअघि ‘घरज्वाइँ’ निर्माण गरेको समूहले बनाउन लागेको यो फिल्मले सामाजिक संजालबाट कलाकारबारे जानकारी दिएको हो । फिल्मको प्रदर्शन २०८२ सालको चैत २७ लाई घोषणा गरिएको छ । अनिल बुढामगरको यो दोस्रो निर्देशकीय फिचरमा दयाहाङ र तेरियालाई जोडीको रुपमा देख्न पाइने अनुमान गरिएको छ । जीएम मूभिज प्रोडक्सन र एबीएम सिने प्रोडक्सनको ब्यानरमा बन्न लागेको फिल्मका लगानीकर्ता जनक घर्ती मगर हुन् । ‘गाउँ आएको बाटो’ फेम्ड पटकथा लेखक महेश राईको यसमा पनि लेखन हुनेछ ।

दयाहाङको लगातारको ब्यस्त तालिकाको कारण ‘मितज्यू’को छायांकन आगामी तिहारपछि सुरु हुने निर्माता घर्ती मगरले अनलाइनखबरलाई जानकारी दिए । ‘आग्रे’ छोटो फिल्म निर्देशन गरेका निर्देशक बुढामगर यतिबेला चर्चामा छन् । गतसाता आयोजित एक कार्यक्रममा उनले आफ्नै कथा भन्दा सामुदायिक फिल्मको ट्याग लगाइने गुनासो पोखेका थिए । तेरियाको कुरा गर्दा अभिनयमा उनको यो डेब्यु चाहिँ होइन । यसअघि उनले सन् २०२२ को भारतीय वेब सिरिज ‘उनकी यारी’ र सन् २०२३ को ‘क्याम्पस बिट्स’मा पनि अभिनय गरेकी थिइन् । फिचर फिल्मको रुपमा ‘मितज्यू’ पहिलो हुनेछ ।