प्रदेश खेलकुद परिषद, लुम्बिनीको आयोजनामा दाङको घोराहीमा मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिता २०८१ हुने भएको छ । यही चैत २० गतेदेखि २३ गतेसम्म प्रदेशभरका १२ जिल्लाका खेलाडीको सहभागीतामा प्रतियोगिता हुने भएको हो । जिल्ला खेलकुद विकास समिति मातहत सम्बन्धित जिल्लाबाट खेलाडी सहभागी हुने गरिगरी मुख्यमन्त्री कप प्रदेश स्तरीय महिला भलिबल प्रतियोगिता घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित जिल्ला समन्वय समितिको सहिद मञ्चमा हुने भएको प्रदेश खेलकुद परिषदका सदस्य सचिव तिरनदाज गौतमले जानकारी दिनुभयो ।लिगकम नकआउटको आधारमा खेलाइने मुख्यमन्त्री कप प्रदेशस्तरीय महिला भलिबल प्रतियोगिता अन्तर्राष्ट्रिय भलिबल महासंघको नियमानुसार खेलाइने उहाँले बताउनुभयो । प्रदेशमा दक्ष महिला खेलाडी उत्पादन गर्न र भलिबलको विकासका लागि प्रदेश स्तरीय प्रतियोगिता आयोजना गरिएको उहाँले बताउनुभयो ।सहभागी टिममा १२ जना खेलाडी, १ जना टिम प्रशिक्षक र १ जना टिम व्यवस्थापक गरी जम्मा १४ जनासम्म हुने गरी कार्यविधि बनाईएको उहाँले बताउनुभयो ।
यसैगरी, सहभागी टिमबाट खेल्ने खेलाडी सम्बन्धित जिल्लाको हुनु पर्ने, खेलाडीले आफ्नो नागरिकता वा ठेगाना खुल्ने सरकारी कागजातको सक्कल प्रमाण–पत्र र सोको प्रतिलिपि अनिवार्य ल्याउनु पर्ने नियम बनाईएको पनि बताउनुभयो ।आयोजकले खेल सञ्चालन हुने जिल्ला बाहेक अन्य जिल्लाका खेलाडी, टिम प्रशिक्षक र टिम व्यवस्थापकलाई यातायातवापत रकम उपलब्ध गराउने तथा सहभागी टिमहरुलाई खाना तथा आवासको पनि रकम उपलब्ध गराउने जनाएको छ ।
प्रतियोगिताको उपाधि जित्ने टीमले नगद एक लाख, मेडल, ट्रफी र प्रमाण–पत्र पुरस्कार पाउने छ भने उपविजेता टीमले नगद पैसट्टी हजार, मेडल, ट्रफी र प्रमाण–पत्र पुरस्कार पाउने आयोजक प्रदेश खेलकुद परिषदका सदस्य कैलाश रोका मगरले बताउनुभयो । यसैगरी, तृतीय पुरस्कार नगद पैतिस हजार, मेडल, ट्रफी र प्रमाण–पत्र र सान्त्वना हुने टीमले नगद पन्ध्र हजार प्रमाण–पत्र प्राप्त गर्ने उहाँले बताउनुभयो ।प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडीलाई नगद दश हजार, मेडल, ट्रफी र प्रमाण–पत्र प्रदान गरिनुका साथै ६ विधामा उत्कृष्ट हुने खेलाडीलाई पनि जनही पाँच हजार, मेडल, ट्रफी र प्रमाण–पत्र प्रदान गरिने भएको उहाँले बताउनुभयो । यसअघि, हालै अर्घाखाँचीको सन्धिखर्कमा मुख्यमन्त्री कप प्रदेश स्तरीय पुरुष भलिबल प्रतियोगिता गरिएको थियो । आयोजक प्रदेश खेलकुद परिषद, लुम्बिनीले यसपछि प्रदेश स्तरीय क्रिकेट प्रतियोगिता चैत २५ बाट तथा फुटबल प्रतियोगिता चैत २७ गतेबाट गर्ने तयारी गरेको छ ।।