रौतहटको वृन्दावन नगरपालिका–१ स्थित बलेरी जंगलमा एक महिलाको शव फेला परेको छ। आठ दिनदेखि बेपत्ता रहेको उक्त महिलाको शव जंगलमा गाडिएको अवस्थामा भेटिएको हो। प्रहरीका अनुसार मृतक वृन्दावन नगरपालिका–१ निवासी फूलमतिया देवी हुन्। उनी गत १४ गतेदेखि बेपत्ता थिइन्।
परिवारले प्रहरीमा बेपत्ता भएको उजुरी दिएपछि अनुसन्धान सुरु गरिएको थियो। खोजीका क्रममा तालिमप्राप्त कुकुरको सहयोगमा प्रहरीले जंगलमा गाडिएको अवस्थामा उनको शव फेला पारेको गरुडा प्रहरी प्रमुख डीएसपी राजन कार्कीले जानकारी दिए। घटनालाई रहस्यमय भन्दै प्रहरीले हत्या गरिएको हुन सक्ने आशंका गरेको छ। यस सम्बन्धमा गम्भीर अनुसन्धान भइरहेको र हालसम्म दुईजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।अनुसन्धानका क्रममा थप प्रमाण संकलन भइरहेको र हत्याको कारण पत्ता लगाउने प्रयास जारी रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता दीपककुमार रायले बताएका छन्। उनले घटनास्थलमा थप अनुसन्धान गर्दै सम्भावित अन्य संलग्न व्यक्तिहरूको खोजी कार्य अघि बढाएको बताए।