२०८२ बैशाख १३ गते शनिवार
२०८२ बैशाख १३ गते शनिवार

दाङमा छायाङकन गरिएको फिल्म ‘कर्मा’को ट्रेलर सार्वजनिक (भिडियो सहित)

नयाँ वर्ष २०८२ को छेको पारेर चैत २९ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘कर्मा’को ट्रेलर सार्वजनिक गरिएको छ । दाङमा छायाङकन गरिएको फिल्म ‘कर्मा’ बिहीबार काठमाडौंमा एक कार्यक्रमबीच सार्वजनिक तीन मिनेट लामो ट्रेलरमा भ्रष्ट सिस्टमले अपराधी करार भएका एक पात्रको संघर्षलाई देखाइएको छ । ट्रेलरको अन्तिम तीस सेकेण्ड सशक्त देखिन्छ, जहाँ अभिनेता विपिन कार्की एक्सन अवतारमा प्रस्तुत छन् । विपिनको साथमा दाङकै नयाँ कलाकार अनिल बुढाथोकीलाई पनि देखाइएको छ ।  बुढाथोकीको यो पहिलो फिल्म हो । यो फिल्म दाङको पश्चिम क्षेत्र बबई गाउँपालिका र शान्तिनगर गाउँपालिका सेरोफेरोका साथै बबई नदि क्षेत्रमा छायाङन गरिएको हो ।

सार्बजनिक ट्रेलरमा एउटा साधारण व्यक्तिलाई जब सिस्टमले अपराधी बनाउँछ, तब ऊ बदला लिन कुन हदसम्म उत्रिन्छ भन्ने देखाइएको छ । अभिनेत्री उपासना सिंह ठकुरीसँग विपिनको प्रेम र मनमुटावका दृश्य पनि ट्रेलरमा छन् । अभिनेता मुकुन भुसाल भने नकारात्मक भूमिकामा छन् । बाइक चेजिङ सिन, ब्याकग्राउन्ड म्यूजिक र एक्सन कोरियोग्राफी ट्रेलरको आकर्षक पक्ष हो । ‘कर्मा’मा सौरभ चौधरीको लेखन तथा निर्देशन छ । यसअघि उनले ‘अगस्त्य’ निर्देशन गरेका थिए । फिल्ममा विपिन, उपासना र मुकुनसहित दिव्यदेव पन्त, सरिता गिरी, बेन बस्नेत, सुज्यान सिलवाल, अनिल बुढाथोकी, निर्मल शर्मा लगायतको अभिनय छ । वसन्त लम्सालको लगानी रहेको फिल्ममा निर्देशक चौधरी स्वयंको कथा छ । आर्टिस्टिक इन्टरटेनमेन्टको प्रस्तुति रहेको फिल्मलाई सौरभ लामाले खिचेका हुन् । यसमा भाष्कर स्वाँरको संगीत निर्देशन तथा ब्याकग्राउन्ड म्यूजिक, श्री श्रेष्ठको द्वन्द्व निर्देशन, कविराज गहतराजको कोरियोग्राफी तथा निमेष श्रेष्ठको सम्पादन छ । ‘कर्मा’लाई अन्तर्राष्ट्रिय बजारमा सेभेन सिज सिनेमाले वितरण गर्नेछ ।