म्यान्मारमा आएको ठूलो भूकम्पबाट मृत्यु हुनेहरूको सङ्ख्या ३ हजार ३ सय ५० भन्दा बढी पुगेको छ। सरकारी सञ्चारमाध्यमले आज नयाँ तथ्याङ्क सार्वजनिक गर्दै भूकम्पका कारण ४ हजार पाँच सय ८ जना घाइते भएका र दुई सय २० जना बेपत्ता रहेको जानकारी दिएको छ । मार्च २८ को भूकम्पले म्यान्मारका अधिकांश भवन र पूर्वाधारलाई ध्वस्त पारेको छ।
विपद् भएको एक हप्ताभन्दा बढी समयपछि पनि धेरै मानिसहरू अझै आश्रयविहीन छन् । संयुक्त राष्ट्रसङ्घको अनुमानअनुसार ७ दशमलब ७ म्याग्निच्युडको भूकम्पले लगभग ३० लाख मानिसलाई प्रभावित पारेको हो। संयुक्त राष्ट्रसङ्घका शीर्ष सहायता अधिकारी टम फ्लेचरले आज मध्य म्यान्मारको मण्डाले सहरमा प्रभावितहरूसँग भेट गर्नुभएको थियो । म्यान्मारका सैन्य जुन्ता प्रमुख मिन आङ ह्लाइङले हिजो बैंककमा क्षेत्रीय शिखर सम्मेलनमा भाग लिएर म्यान्मामा फर्केपछि नयाँ मृत्यु सङ्ख्या घोषणा गरिएको थियो।