तीनकुने हिंसाका मुख्य कमान्डर दुर्गा प्रसाईले भारत प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् । भारतको आसाम राज्यमा उनले प्रहरी समक्ष आत्मसमर्पण गरेका हुन् । प्रहरी स्रोतका अनुसार, उनलाई काकडभिट्टा नाका हुँदै नेपाल ल्याइँदै छ। उनी प्रहरीको सम्पर्कमा पुगेको प्रसाईको परिवारले पनि पुष्टि गरेको छ। तर, परिवारका ती सदस्यले प्रहरीले पक्राउ गरेको नभई सुरक्षाका लागि आफै आसाम प्रहरीको सम्पर्कमा पुगेको बताए। प्रसाईसँगै भागेका उनका सहयोगीहरू भने आफै नेपाल फर्कँदै छन्।
प्रसाई भारततिर भागेको सूचना पाएपछि प्रहरीले विभिन्न माध्यमबाट ‘लोकेसन’ पहिल्याएको थियो। उनी फरार भएपछि पनि दुईवटा भिडिओ सामाजिक सञ्जालमा अपलोड गरेका थिए। चैत १५ गते काठमाडौँको तीनकुनेमा प्रसाईको नेतृत्वमा भएको प्रदर्शनले हिंसात्मक रुप लिएपछि २ जनाको ज्यान गएको थियो। व्यापक तोडफोड, आगजनी र लुटपाट गरिएको थियो।