नयाँ शैक्षिकसत्र २०८२ को विद्यालय भर्ना अभियान शुरू भएको छ । ‘सबै बालबालिकाको विद्यालयमा सहभागिता, गुणस्तरीय शिक्षाप्राप्तिको सुनिश्चितता’ भन्ने नारासहित भर्ना अभियान शुरू भएको हो ।विद्यार्थी भर्ना अभियानको शुभारम्भको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यालय शिक्षा विधेयक २०८१ लाई छलफलसहित पारित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।शिक्षा क्षेत्रमा बजेटको अंश वृद्धि गर्दै दिगो विकासका लक्ष्य हासिल गर्न सरकार अघि बढिरहेको प्रधानमन्त्री ओलीको भनाइ छ ।
उहाँले नेपालको झन्डै २० प्रतिशत जनसङ्ख्या अझै पनि निरपेक्ष गरिबीको रेखामुनि रहेको बताउँदै यस्तो अवस्थाको अन्त्यका लागि शिक्षा सबैभन्दा प्रभावकारी उपाय भएको उल्लेख गर्नुभएको छ ।प्रधानमन्त्री ओलीले विद्यार्थी टिकाउ दरमा अझै सुधार आवश्यक रहेको बताउँदै सीपमूलक, व्यावसायिक तथा प्राविधिक शिक्षामा लगानी बढाउने सरकारको प्राथमिकता रहेको बताउनुभयो ।यस्तै आन्दोलनरत शिक्षकहरूप्रति सङ्केत गर्दै प्रधानमन्त्री ओलीले न्यायपूर्ण मागहरूको सम्बोधनमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो ।यसैबीच शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले एक सन्देशमार्फत सबै बालबालिकाको शिक्षा सुनिश्चित गर्न सरकार, अभिभावक, शिक्षक र समग्र समाजको सक्रिय सहभागिता आवश्यक भएको बताउनुभएको छ ।
मन्त्री भट्टराईले विज्ञान र प्रविधिको विकाससँगै रैथाने ज्ञान र सीपको संरक्षण गर्दै भावी पुस्तालाई उत्तरदायी, विवेकी नागरिक बनाउन शिक्षाको भूमिका अपरिहार्य रहेको धारणा व्यक्त गर्नुभयो ।नयाँ शैक्षिकसत्र शुरू हुने समयमा लाखौं शिक्षक कर्मचारीहरू शिक्षा ऐन माग गर्दै काठमाण्डौमा आन्दोलित छन् । उनीहरूलाई विद्यार्थी भर्ना अभियानमा सहभागी हुन शिक्षमन्त्री भट्टराईले आग्रह गर्नुभएको छ ।