२०८२ बैशाख १३ गते शनिवार
२०८२ बैशाख १३ गते शनिवार

गैँडाको चोरीशिकार शून्य

दुर्लभ एकसिङ्गे गैँडाको चोरीशिकार विगत पाँच सय १६ दिनदेखि रोकिएको छ । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा प्राकृतिक कारणले गैँडा मरे पनि चोरीशिकार हुन भने पाएको छैन । निकुञ्जका सूचना अधिकारी अविनास थापामगरका अनुसार २०८० साल कात्तिक ३० गते निकुञ्जकै पूर्वी सेक्टरअन्तर्गत चपरचुली क्षेत्रमा खाल्डोमा पारेर तस्करले दुई वटा गैँडा मारेका थिए । त्यसको नौ दिनमा नौ जना अभियुक्तलाई निकुञ्जले पक्राउ गरी सार्वजनिक गरेको थियो ।

त्यसयता सुरक्षा रणनीतिमा थप परिवर्तन गरी काम गरिरहेकाले चोरीशिकार हुन नपाएको उहाँले बताउनुभयो । निकुञ्ज आसपास बसोबास गर्ने नागरिक सचेत हुँदा पनि चोर–शिकारीले गैँडा मार्न नपाएका हुन् । चालू आर्थिक वर्षको अहिलेसम्म २४ गैँडा मृत भेटिएका छन् । यी सबै प्राकृतिक कारणले मरेका हुन् । सूचना अधिकारी थापामगरका अनुसार बाघ तथा गोहीको आक्रमणमा परेर, एकापसमा जुधेर, बिरामी भएर, दलदलमा फसेर, बूढो भएर, भाले गैँडाले थिचेर ती गैँडा मरेका हुन् ।।