२०८२ बैशाख ३१ गते बुधवार
२०८२ बैशाख ३१ गते बुधवार

पानी खोज्नु भन्दा बचाउनेतिर लाग्नु पर्ने सरोकारवालाहरुको जोड

पानी खोज्नु भन्दा बचाउनेतिर लाग्नु पर्ने समय आएको सरोकारवालाहरुले औँल्याएका छन् । तुलसीपुरमा आयोजित बृहत गोष्ठीमा बोल्ने सरोकारवालाहरूले पानीका मुहानहरू सुक्दै गएकाले अव मुहान मात्र नभइ पोखरीमा पानी जम्मा गरेर बचाउनेतिर लाग्नुपर्ने औँल्याएका हुन् । बाटो पक्की, घर आँगन, कुलानाला लगायतका संरचनाहरु विकासका नाममा पक्की हुँदै जाँदा जमिनले पानी नसोच्ने भएका कारण पानीका मुहानहरू सुक्दै गएको उनीहरूले बताएका छन् । पानी सोच्ने जमिन र पानी सिंचित गर्ने ठाउँ नहुदा खोला तथा नदीबाट बगेर भारत पुग्ने अवस्था छ अर्कोतिर नेपालमा डिप बोरिङ खन्दा पानीमा मुहान नभेटिने अवस्था सिर्जना हुँदै गएकाले पानीको संरक्षण गर्न आवश्यक रहेकोमा जोड दिएका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका राष्ट्रिय सभाका सदस्य जग प्रसाद शर्मा अपारले संविधानमा खानेपानीलाई मौलिक हकका रुपमा व्यवस्था गरेपनि कार्यान्वयन गर्न नसक्नु चिन्ताको विषय भएको बताउनुभयो । संविधानको धारा ३५ को उपधार ४ मा उल्लेख गरिएका हक र अधिकारबाट उपभोक्ता वञ्चित हुनुपर्ने अवस्था रहेको भन्दै राज्यलाई बोध गराउनुपर्ने बताउनु भयो । सो अवसरमा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाराम खड्का, घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसी, दंगीशरण गाउँपालिकाका प्रमुख शम्भु गिरीले उपभोक्तालाई पानी पिउनबाट वञ्चित हुन नदिनका लागि स्थानीय सरकार लागि परेको बताउनुभयो । जनताले चुनेका जनप्रतिनिधि भएकाले जनतालाई निराश हुन नदिने गरी खानेपानीको क्षेत्रमा काम गरिरहेको उहाँले बताउनुभयो ।दाङ जिल्लामा खानेपानीको बस्तु स्थितिबारे खानेपानी डिभिजन प्रमुख तिलक न्यौपानेले प्रस्तुती करण गर्नुभएको थियो ।

कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक, बालमुकुन्द श्रेष्ठ, शहरी विकास तथा खानेपानी मन्त्रालय लुम्बिनी प्रदेशका सचिव वासुदेव पौडेल, नगर विकास कोषका सुवाशराज पन्त, नेपाल पत्रकार महासंघ दाङका वरिष्ठ उपाध्यक्ष ओपेन्द्र बस्नेत लगायतले उपभोक्ताले परीक्षण गरिएको शुद्ध पानी पाउनुपर्नेमा जोड दिएका थिए । राष्ट्रिय खानेपानी उपभोक्ता महासंघ नेपालका अध्यक्ष खेमराज वलीको अध्यक्षतामा सुरु भएको कार्यशाला गोष्ठी भोलीसम्म संचालन हुनेछ । महासंघका उपाध्यक्ष रामचन्द्र उपाध्यायको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण सल्लाहकार चेक प्रसाद धितालले गर्नुभएको थियो ।