२०८२ बैशाख ३१ गते बुधवार
२०८२ बैशाख ३१ गते बुधवार

लुम्बिनी प्रदेशका ६६ प्रहरी एकाइ भाडाकै भवनमा


लुम्बिनी प्रदेशका १२ वटा जिल्लामा रहेका तीन सय २२ प्रहरी एकाइमध्ये ६६ वटा एकाइ भने अझै भाडाबाटै सेवा दिइरहेका छन् । लुम्बिनी प्रदेशमा भवन र जग्गा दुवै भएका एकाइ दुई सय १७ र भवन जग्गा दुवै नभएका एक सय पाँच वटा एकाइ छन् । लुम्बिनी प्रदेशका प्रहरी कार्यालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा प्रदेश प्रहरी प्रमुख दानबहादुर कार्कीले जग्गा भएको तर भवन निर्माण नभएको ७० वटा एकाइ भएको जानकारी दिनुभयो ।

उहाँले अन्य सङ्घ संस्थाकै भवनमा रहेर ७४ वटा एकाइबाट सेवा दिँदै आएको बताउनुभयो । प्रहरी प्रमुख दानबहादुर कार्कीले जग्गा प्राप्त भएका केही स्थानमा भने स्थानीय सरकारबाट भवन निर्माण भएको जानकारी दिनुभयो । उहाँले प्रहरीको सेवालाई थप चुस्तदुरुस्त बनाउनका लागि भवनसमेत अपरिहार्य रहेकाले स्थानीय सरकारले आफ्ना भवन बनाउने क्रममा प्रहरीका लागि समेत भवन निर्माणलाई प्राथमिकतामा दिए सेवा प्रवाहमा सहज हुने बताउनुभयो । एक महिनाको अवधिमा लुम्बिनी प्रदेशमा भएका चार सय दुई वटा सवारी दुर्घटनामध्ये सबैभन्दा बढी मोटरसाइकल तीन सय ४४ वटा दुर्घटना भएका थिए । एक महिनाको अवधिमा लुम्बिनी प्रदेशमै सवारी दुर्घटनामा परी ३६ जनाको मृत्यु भएको थियो भने सात सय ४५ जना घाइते भएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।।