२०८१ बैशाख २१ गते शुक्रवार
२०८१ बैशाख २१ गते शुक्रवार

रुकुम पश्चिममा झाडापखालाको प्रकोप बढ्यो : एक बालकको मृत्यु

रुकुम पश्चिममा झाडापखालाको प्रकोप बढेको छ । झाडापखालाका कारण एक बालकको मृत्यु भएको छ । जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्वर ३ का १५ वर्षिय किरण ओलीको झाडापखालाको कारण सोमबार बिहान मृत्यु भएको हो । तीन दिन अघिदेखि झाडापखाला लागेका ओलीको स्वास्थ्य अवस्था गम्भिर भएपछि सानीभेरी गाउँपालिका अस्पताल ल्याईएको थियो । अन्तिम अवस्थामा अस्पताल ल्याईएका ओलीको उपचारको क्रममा मृत्यु भएको अस्पताल व्यवस्थापक कर्णबिर केसीले जानकारी दिनुभयो ।

उहाँका अनुसार फोहोर पानी र सरसफाईको कमीले हुने एमोबिक डाईरियाको कारण बालक ओलीको मृत्यु भएको हो । अस्पतालका अनुसार केहिदिन यता झाडापखालाका बिरामीहरुको सङख्या बढेको छ । पछिल्लो दुई दिन अस्पतालमा झाडापखालाका २२ जना बिरामीको उपचार गरिएको अस्पताल व्यवस्थापक केसीले बताउनुभयो । उहाँले सोमबार मात्र नौ जना झाडापखालाका बिरामीेको उपचार गरिएको जनाउनुभयो । मौसममा आएको परिवर्तनसँगै लामो समयसम्मको खडेरी, आगलागी लगायतका कारण पानी दुषित हुँदै गएकोले झाडापखालाका बिरामीहरु बढेको बताईन्छ । झाडापखालाले महामारीको रुप लिनसक्ने भएकोले सचेतता अपनाउन गाउँपालिकाले अनुरोध गरेको छ ।