२०८१ बैशाख ३० गते आइतवार
२०८१ बैशाख ३० गते आइतवार

सडक र ठूला भवनहरू बनाएर मात्र विकास हुदैन, मानव विकास हुनु पर्छ : अध्यक्ष बस्नेत

दाङको शान्तिनगर गाउँपालिकाका अध्यक्ष प्रमोद बस्नेतले सडक र ठूला भवनहरू बनाएर मात्र विकास नहुने बताएका छन् । शनिबार शान्तिनगर ३ पातेटाकुरामा रहेको प्रगतिशील महिला समुहद्धारा उत्पादित सरफको बजारिकरण सम्बन्धी कार्यक्रममा बोल्दै उनले यस्तो बताए । उनले अबका विकासहरू मानव विकास हुनु पर्ने बताए । उनले भने,‘ हरेक नागरिकहरू कुनै न कुनै पेशा व्यवसायमा लागेपछि मात्र मानव विकास हुन्छ । मानव विकास हुनु भनेको देशको विकास हुनु हो । अझै पनि हामीहरू सडक र ठूला भवन बनाए मात्र विकास भएको ठान्छौँ । अब मानवको विकास नभएसम्म ति विकासको महत्व हुँदैन ।’

यस्तै उनले महिला दिदी बहिनीहरूले तालिम लिएर सिकेको कुरा व्यवहारमा लागू गरेको भन्दै खुशी व्यक्त गरे । उनले गाउँपालिकाले यहाँका नागरिकहरूलाई लक्षित गरेर विभिन्न तालिमहरू दिँदै आइरहेको भन्दै आफ्नो प्रमुख लक्ष्य उद्देश्यै भनेको यहाँका नागरिकहरू कुनै पनि पेशा व्यवसायमा लागेर आत्मनिर्भर बनाउने रहेको समेत बताए । प्रगतिशील महिला समुहद्धारा उत्पादित स्थानीय सरफ आफूले प्रयोग गरेको भन्दै उनले गुणस्तर र मूल्यमा पनि एकदमै राम्रो रहेको भन्दै सबैलाई प्रयोग गर्न आग्रह गरे ।

यस्तै कार्यक्रममा बोल्दै शान्तिनगर ३ का वडाअध्यक्ष मीन बहादुर केसीले सीप सिकेपछि त्यसलाई सदुपयोग गरेर आर्यआर्जन गर्नु पर्छ, भन्ने आफूहरूको मान्यता रहेको भन्दै प्रगतिशीलका महिलाहरूले सीपको सदुपयोग गरेकोमा खुशी व्यक्त गरे । समुहकी अध्यक्ष चमेली रजालीले ३ दिने तालिम लिएर आफूहरूले सरफ बनाउन थालेको बताइन् ।
उनले भनिन्,‘ मैले धेरै किसिमका तालिमहरू लिएको छु । तर, यो सरफ बनाउने तालिमलाई व्यवहारमा लागू गर्दै हामीले लघुउद्यम सञ्चालन गर्न थालेका छौँ । यसमा हामीलाई स्थानीय सरकारले सहयोग गरेमा अझ हौसला बढ्ने थियो । ’ कार्यक्रमको सहजीकरण शान्तिनगर ३ का वडा सचिव हेमप्रसाद भण्डारीले गरेका थिए ।