२०८१ जेष्ठ ८ गते मङ्गलवार
२०८१ जेष्ठ ८ गते मङ्गलवार

दाङको हाडबास बस्तीका आगलागी पिडित स्थानीयको बिचल्ली

दाङको राजपुर ७ हाडबासमा आगलागीबाट बस्ती नै सखाप भएपछि स्थानीयको बिचल्ली भएको छ। आगलागीका कारण घरबासविहीन भएका स्थानीयहरू रुखको छहारीमा दिन र खुला आकाश मुनी रात बिताउन बाध्य छन्। न खान गाँस न बस्न बास नै छ । उनिहरुले अहिले विचल्लीमा परेका छन । राप्ती नदी किनारको खरकट्टीमा सल्किएको आगो आइतबार दिउँसो एकाएक बस्ती आयो र हाडबास गाउँको २३ घर, २३ गोठ र २० वटा भान्सा घर जलेर नष्ट भए ।

आगो निभाउनका लागि चाहिने पानी त भएन नै पिउनको लागि स्थानीयलाई खानेपानीको पनि अभाव छ। धाराको लागि बिस्तार गरिएका पाइपसमेत जलेर नष्ट भएको छ। विद्युतका तार पनि जलेका छन्। जसले गर्दा स्थानीयहरूलाई थप समस्या परेको स्थानीय खिमलाल खत्रीले बताए।
आगलागीका कारण बस्तीनै सखाप भएपछि तत्काल राहत र पुर्नस्थापनाको लागि स्थानीय सरकारले पहल थालेको छ। आगलागी भएको दिनमा पनि स्थानीय तहका जनप्रतिनिधि पीडितको घर आगनमा पुगेको, राहत र पुर्नस्थापनाको लागि सबैको ध्यानाकर्षण गराउने, तत्काल साँझ बिहानको छाकको लागि खाद्यान्न उपलब्ध गराउने काम भएको जनप्रतिनिधिको भनाई छ। ‘तत्कालको लागि छाक टार्न दाल, चामल, नुन, तेल अनि ओत लाग्न त्रिपाल वितरण गरेका छौं’ वडा अध्यक्ष पुस्कर वलीले भने,’पुर्नस्थापनासँगै अस्थायी आवास निर्माणको लागि काम गर्ने योजना छ।’

राजपुर गाउँपालिकाका अध्यक्ष शरद बुढाथोकीले हाडबास गाउँलाई पुर्नजीवन दिनेगरी योजना निर्माणमा जुटेको बताएका छन्। ‘राहत वितरणको काम अघि बढेको छ। तर, हामीले राहतमात्रै होइन, यो गाउँलाई पुर्नजीवन दिनेगरी आवास निर्माणको माग सम्बन्धित सबैसँग गरेका छौं’ उनले भने,’यो महाविपत्तिमा सबैले आफ्नो एक छाक काटेर भएपनि साथ दिन जरुरी छ।’ जिल्ला तहबाट पनि घटनाको अवलोकन र केही खाद्यान्नत, भाँडाकुडा, त्रिपाल पीडित समक्ष पुर्याइएको छ।