२ माघ, काठमाडौं । बीएण्डसी अस्पतालका सञ्चालक दुर्गा प्रसाईंलाई पक्राउ गर्न प्रहरीले अनुमति पाएको छ । प्रसाईं भने फरार छन् । मेडिकल कलेजको सम्बन्धन दिनका लागि २० करोड घुस मागेको आरोप लगाएपछि प्रसाईंविरुद्ध चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा। श्रीकृष्ण गिरीले मानहानीको मुद्दा हालेका थिए ।
निवेदनमाथि कारबाही गर्दै जिल्ला प्रशासन कार्यालय, भक्तपुरले पक्राउ गर्न अनुमति दिएको प्रहरीले जनाएको छ । लगतै प्रहरी भक्तपुरस्थित उनको निवासमा पुगेको थियो । तर उनी नभेटिएको प्रहरी स्रोतले बताएको छ । प्रहरीले झापास्थित प्रसाईंको घरमा पनि खोजी गरेको छ । त्यहाँ पनि उनी भेटिएनन् ।
बुधबार साँझबाटै उनको मोबाइल पनि स्वीच अफ रहेको स्रोतले बतायो । प्रसाईंले मंगलबार पत्रकार सम्मेलन गरेर डा। गिरीविरूद्ध अख्तियारमा उजुरी दिएको पनि बताएका थिए ।