२०८१ बैशाख २४ गते सोमवार
२०८१ बैशाख २४ गते सोमवार

सल्यानमा कुटपिटबाट मृत्यु भएका युवकको घटना अभियोगमा ११ जना पक्राउ

सल्यानमा कुटपिटबाट युवकको मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा जिल्ला प्रहरी कार्यालय सल्यानले ११ जना आरोपीलाई पक्राउ गरी सार्वजनिक गरेको छ । जिल्लाको कुमाख गाउँपालिका–६ का २१ वर्षीय बिकास वलीको कुटपिटबाट मृत्यु भएको घटनामा संलग्न रहेको अभियोगमा ११ जनालाई पक्राउ गरि बिहिबार खलंगामा सार्वजनिक गरेको हो ।

कुमाख गाउँपालिका–५ कौछेका मानसिंह कुमाई लगायत ११ जनालाई सार्वजनिक गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी भवानी प्रसाद धमलाले जानकारी दिनु भयो । पक्राउ परेका सबै अभियुक्तलाई सल्यान जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरी अनुसन्धान बढाई रहेको उहाँको भनाई छ ।
कुमाख नगरपालिका–५ कौचेस्थित मंगलबार राति विवाहको भोज खाई नाचगान गर्ने क्रममा विवाह घरमा सजाइएका ध्वजापतका च्याती विवाहमा आएका मानिसहरुलाई अश्लिल शब्द प्रयोग गरी हो हल गरेपछि विकास वलीले भरत बुढाथोकी लगायतको समूहलाई सम्झाई बुझाई गर्दा वादविवाद भएको थियो ।

घर फर्किने क्रममा विवाह घरदेखि झन्डै एक किलोमिटर टाढा मानसिंह लगायतका व्यक्तिहरूको समूहले बिकास वली सहित ३ जनालाई कुटपिट गर्दा गम्भीर घाइते भएका थिए ।
घाइते वलीको मिशन अस्पताल चौरजहारी हुँदै नर्सिङ होम नेपालगंज बाँकेमा उपचारका लागि लिदै गर्दा बाटोमा नै मृत्यु भएको थियो । कुटपिटबाट घाइते भएका १ जना मिशन अस्पताल चौरजहारीमा उपचार पश्चात डिस्चार्ज भएका छन । घाइते १ जनाको नर्सिङ होम बाँकेमा उपचार भइरहेको छ ।