२०८१ जेष्ठ ४ गते शुक्रवार
२०८१ जेष्ठ ४ गते शुक्रवार

पत्रकार महासंघ दाङ लुम्बिनी प्रदेशमा उत्कृष्ट शाखाबाट सम्मानित

नेपाल पत्रकार महासंघ दाङ उत्कृष्ट शाखाका रुपमा सम्मानित भएको छ । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशले चौथो साधारणसभा तथा तेस्रो अधिवेसनको अवसरमा बुधवार दाङ शाखालाई प्रदेशकै उत्कृष्ट शाखाका रुपमा सम्मानित गरेको हो ।

महासंघका प्रदेश अध्यक्ष वसन्त गिरीको अध्यक्षता तथा लुम्बिनी प्रदेशका मुख्यमन्त्री जोखबहादुर महराको प्रमुख आतिथ्यमा आयोजित एक समारोहवीच दाङ शाखालाई उत्कृष्टताको प्रमाणपत्र प्रदान गरिएको हो । मुख्यमन्त्री महराले शाखा उपाध्यक्ष सन्तोष सुवेदी लगाएत कार्यसमितिको टिमलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो ।

मिडिया साक्षरता, पत्रकार आचारसंहिता पालना लगाएत पत्रकारिताको विकास र प्रभावकारी सञ्चारमा उत्कृष्ट भूमिका खेलेको र शाखाको क्रियाशिलता प्रदेशमै उत्कृष्ट रहेको भन्दै प्रदेश समितिले प्रदेशकै उत्कृष्ट शाखाका रुपमा सम्मान गरेको हो । दुर्गालाल केसी नेतृत्वको पत्रकार महासंघ दाङ शाखाले देशमै पहिलोपटक नागरिकलाई मिडिया बुझाउन मिडिया साक्षरता अभियान थालेको थियो । जसलाई दाङको नमूना मोडेल मान्दै प्रदेश र केन्द्रीय समितिले समेत अभियानका रुपमा सञ्चालन गरेका थिए । यसका साथै दाङमा पहिलोपटक राष्ट्रिय स्तरको मिडिया महोत्सव आयोजना गरी पत्रकारिताका समसामयीक बिषयमा बहस गरिएको थियो । जसमा संघ, प्रदेश, स्थानीय सरकार र पत्रकार महासंघ केन्द्रीय समितिको सहभागितामा संघीयता, मिडिया र विकास बिषयमा बहस गरिएको थियो ।

यसका साथै मिडिया महोत्सवमा राष्ट्रिय स्तरका मिडिया बिज्ञ र सरोकारवालाहरुको सहभागितामा मिडियामा नैतिकता, मिडियाको सामर्थ्य र भबिस्य, मिडियामा समावेशी सवाल, कानून कार्यान्वयनमा मिडियाको भूमिका, न्यू मिडिया र परम्परागत मिडियाको अन्तरसम्बन्ध जस्ता बिषयमा बहस गरी देशभरका मिडियालाई मार्गदर्शन गर्ने काम गरिएको थियो ।

महासंघ दाङ शाखाले पत्रकार महासंघ केन्द्रीय समितिले थालेको सदस्यता शुद्धिकरण अभियान, पत्रकारहरुको क्षमता विकास तालिम सञ्चालन, कोरोना महामारीका बेला पत्रकारहरुको उपचार व्यवस्थापनका साथै पत्रकारहरुलाई अभिभावकत्व प्रदान, पत्रकारहरुलाई फेलोसिप प्रदान र महासंघको संस्थागत विकास लगाएतमा नमूना कार्य गरेको थियो ।

नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष दुर्गालाल केसीले पत्रकार महासंघ लुम्बिनी प्रदेशले दाङ शाखाले गरेका कामको आधारमा निष्पक्ष मुल्यांकन गरी उत्कृष्ट शाखा घोषित गरेकोमा खुशी व्यक्ती गर्नुभयो । अध्यक्ष केसीले उत्कृष्ट शाखाका रुपमा सम्मानित गरेकोमा प्रदेश समितिप्रति आभार प्रकट गर्दै महासंघ दाङ शाखालाई उत्कृष्ट बनाउन सहयोग गर्नुहुने कार्यसमिति परिवारका साथै सबै शुभेच्छुक र सहयोगीहरुलाई धन्यवाद् दिनुभएको छ ।