२०८१ जेष्ठ ४ गते शुक्रवार
२०८१ जेष्ठ ४ गते शुक्रवार

मध्यराती घरमा आगलागी हुँदा वृद्ध दम्पतीको मृत्यु

धादिङमा मध्यराती घरमा आगलागी हुँदा घरमा सुतिरहेका वृद्ध दम्पतीको मृत्यु भएको छ । गए राति करिब साढे ११ बजे थाक्रे गाउँपालिका–५, गैरिखर्कस्थित अन्दाजी ७० वर्षीय तेजबहाुदर लामाको घरमा आगलागी भएको हो । आगलागीमा परी तेजबहादुर र उनकी श्रीमती अन्दाजी ७० वर्षीया ठूली तामाङको मृत्यु भएको वाग्मती प्रदेश प्रहरी कार्यालयले जानकारी गराएको छ ।

राति करिब साढे १२ बजे प्रहरी र स्थानीयको सहयोगमा आगलागी नियन्त्रणमा लिइएको थियो । आगलागी नियन्त्रणमा लिइएपछि जलेर मृत्यु भएको अवस्थामा लामा दम्पतीको शव फेला परेको प्रहरीले जनाएको छ । उनीहरूका छोराछोरी काठमाडौंमा बस्दै आएका छन् ।

ढुंगामाटोले बनाइएको जस्ताले छाएको एकतले घरमा विद्युत् सर्ट भई आगलागी हुँदा अन्नबाली, लत्ताकपडा, मकै पिस्ने मिल जलेर पूर्ण रूपमा नष्ट भएको प्रहरीले जनाएको छ ।