२०८१ जेष्ठ ४ गते शुक्रवार
२०८१ जेष्ठ ४ गते शुक्रवार

जङ्गलको डढेलो गाउँमा सल्किंदा १० घर १२ वटा गोठ जले

फाइल तस्वीर

सोलुखुम्बुमा जङ्गलको डढेलो गाउँमा सल्किंदा १० घर जलेर नष्ट भएका छन् । आगोले १२ वटा गोठ जल्नुका साथै केही पशुचौपाया नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनमा बुधबार भएको आगलागीबाट बुद्धिमाया चर्मकार, पूर्णबहादुर अधिकारी, कालीबहादुर अधिकारी, हस्तिमाया राई र पारसमणि राईको घरगोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिए ।

यस्तै बडीसुवा राई, उत्तरकुमार राई, दिलबहादुर राई, निशान राई र टीकाध्वज राईको घर पनि आगोले जलेको प्रहरी निरीक्षक साहले बताए । उनले भने, ‘वनमा फैलिएको डढेलो निभाउन प्रहरीसहित स्थानीय जनशक्ति सक्रिय थिए, एक्कासी आगो गाउँमा सल्कियो र केही घरगोठ जले ।’ गाउँमा सल्किएको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासी, लगायतको सक्रियतामा नियन्त्रणमा लिइएको साहले बताए । क्षतिको विवरण संकलन भइरहेको उनले बताए ।