२०८१ चैत्र ६ गते बुधवार
२०८१ चैत्र ६ गते बुधवार

नेपालगन्जमा बहुमूल्य नागमणि भन्दै करोडौं ठगी गर्ने पक्राउ

बाँके प्रहरीले बहुमूल्य नागमणि भन्दै टल्कने सानो पदार्थ देखाएर एक करोड ८९ लाख ५० हजार ठगी गर्नेलाई पक्राउ गरेको छ ।

दाङ घोराही उपमहानगरपालिका–१७ का माधवप्रसाद घिमिरेलाई दैलेखका धनबहादुर रोका, सल्यानका कृष्ण शाह र डिल्लीबहादुर बोहराले नागमणिको विश्वासमा पारेर एक करोड ८९ लाख ५० हजार रुपैयाँ ठगेका हुन् ।

नेपालगन्जको एक होटलमा बसेर मूल्य निर्धारण गरेका उनीहरु पैसा बुझेपछि फरार भएका थिए । बाँके प्रहरीले उनीहरुलाई नेपालगन्ज उपमहानगरपालिका–१ बाट ४० लाख रुपैयाँसहित नियन्त्रणमा लिएको हो ।

बाँके प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेका छन् । उनका अनुसार तीन जनाले घिमिरेलाई नागमणिको धार्मिक महत्त्व हुनुका साथै व्यापार व्यवसाय राम्रो हुने भन्दै प्रलोभनमा पारेको देखिएको छ ।

यस्तो कार्य गर्नेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा २४९ अनुसार ७ वर्षसम्म कैद र ७० हजारसम्म जरिवानाको व्यवस्था रहेको छ ।