२०८१ बैशाख १४ गते शुक्रवार
२०८१ बैशाख १४ गते शुक्रवार

चुनावमा खटिएका सुरक्षाकर्मी र कर्मचारीलाई सरकारद्धारा धन्यवाद

सरकारले पालिका तह चुनाव २०७९ मा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरुलाई धन्यवाद दिएको छ । वैशाख ३० गते देशभर एकसाथ सम्पन्न भएको पालिका चुनावमा खटिएका कर्मचारी र सुरक्षाकर्मीहरुको सहयोग अतुलनीय भएको भन्दै सरकारले धन्यवाद दिएको हो । आज सिंहदरबारमा बसेको राष्ट्रिय सुरक्षा समितिको बैठकमा सरकारको तर्फबाट गृहमन्त्री बालकृष्ण खाँणले निर्वाचनमा खटिएका सम्पूर्ण सुरक्षाकर्मी र कर्मचारीहरुलाई धन्यवाद दिएको गृह मन्त्रालयका सहसचिव फणिन्द्रमणि पोखरेलले बताउनुभयो । बैठकमा गृहमन्त्री खाँणले चुनावको महत्वलाई बुझेर जनतालाई सहज ढंगले मतदान केन्द्रमा सुरक्षा दिनु चुनौतीपूर्ण रहेको बताउनुभयो ।

मतदानको दिन मतपत्र र मतपेटिकाको सुरक्षा दिने विषय झनै चुनौतीपूर्ण रहेकोले यसमा सहजता दिन सहयोग पुर्‍याउने सबै निकाय र पक्षहरुलाई धन्यवाद दिनुभएको सहसचिव पोखरेलले जानकारी दिनुभयो । बैठकमा गृहमन्त्री खाँणले निर्वाचनका क्रममा घाइते भएकाहरुको शीघ्र स्वास्थ्यलाभको कामना एवं ज्यान गुमाएकाहरुप्रति समवेदना एवं परिवारलाई राहत तथा क्षतिपूर्ति प्रक्रिया शीघ्र अघि बढाउन निर्देशन दिनुभएको सहसचिव पोखरेलले बताउनुभयो । यस्तै, सहसचिव पोखरेलले पालिका तहको यसपटकको चुनावमा सीमित श्रोत, साधनको प्रयोग भएको पनि बताउनु भयो ।