२०८१ बैशाख २९ गते शनिवार
२०८१ बैशाख २९ गते शनिवार

संक्रमित भेटिएपछि बाँके र बर्दियामा लकडाउन थप कडा

नेपालगन्ज,
२१ वैशाख । नेपालगन्जका एक पुरुषमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि बाँकेको लकडाउन थप कडा पारिएको छ । यसअघि बिहान र बेलुकातिर अत्यावश्यक वस्तु किनमेल गर्न भन्दै लकडाउनको अटेरी गरी बाहिर निस्कने सर्वसाधारण अहिले आफै घरभित्र सुरक्षित भएर बस्न थालेका छन् । नगरका टोलटोलमा स्थानीय आफैले बाटोमा तगारो बनाएर आवतजावत बन्द गरेका छन् ।

प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले नेपालगन्जका मस्जिदमा सुरक्षा व्यवस्था कडा पारिएको बताए ।

प्रहरीले लकडाउनमा थप कडाइ गर्दै औषधि पसल बाहेकका सबै पसल बन्द गराएको छ । शुक्रबार बिहान १० बजेदेखि नै प्रहरीले खाद्यान्न पसलसमेत बन्द गराएको छ ।

१७ गते नेपालगन्जको एकलैनीस्थित मस्जिदमा लिइएको ११ जनाको नमुनामध्ये ६० वर्षीय व्यक्तिमा कोरोना देखिएको हो । ती व्यक्ति सोही मस्जिदमा अजान पढन जाने गर्दथे । कोरोना देखिएका उनलाई अहिले खजुरास्थित क्यान्सर अस्पतालको आइसोलेसनमा राखिएको छ ।

यसैबिच नेपालगन्जमा शुक्रबार एक जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि बर्दियामा लडडाउन कडा बनाइँदै छ । दैनिक चार घण्टा खुल्दै आएको बजार अब सातामा तीन दिन खोलिने भएको छ ।

जिल्ला विपत् व्यवस्थापन समितिको बैठकले उक्त निर्णय गरेको प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । पसल खुलेको बहानामा घुमघाम गर्नेको संख्या बढ्दै जानु र मास्कसमेत प्रयोग नगर्ने बढी बजार आउन थालेपछि कडाइ गरिएको हो ।

सवारी पासको दुरुपयोग बढ्दै गएपछि यसलाई व्यवस्थित गर्न प्रहरीलाई निर्देशन दिइएको छ । बॉकेको नेपालगन्ज बर्दियाको मुख्य व्यापारिक केन्द्र भएकोले ९० प्रतिशत सामान खरिदमा निर्भर छ । कोरोना संक्रमित फेला परेपछि बॉकेको सिमाना शनिबारबाट अघोषित रुपमा सिल गरिएको छ ।